ओम प्रकाश यादव
रौतहट , जेठ ३० । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले पत्रकार सागर संगम ठाकुर र रवीन्द्र प्रजापतिलाई आफू कुटपिट गरेको कुरा निराधार रहेको बताएका छन्।
आज बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै मेयर जयसवालले पत्रकारमाथि आफू कुटपिट गरेको भनी आइरहेको समाचारमा कुनै सत्यता नरहेको र आफू कुटपिट गरेको कुरा निराधार रहेको स्पष्ट पारेका हुन्।
आफूलाई बद्नाम गराउन केही व्यक्तिले मेयर जयसवाल पत्रकारलाई कुटेको भनी गलत आरोप लगाएको उनले दाबी गरेका छन ।
सामाजिक सञ्जाल फेसबुकमा कटहरियाको खानेपानी अवरुद्ध हुँदा उपभोक्ताहरु मारमा परेको भनी लेखिएको स्ट्याटसको विषयमा विवाद हुँदा आफ्ना केही सहयोगी व्यक्तिहरू र सञ्चारकर्मी रवीन्द्र प्रजापति तथा सागर ठाकुर बीच धकेलाधकेल भएको भने उनले स्वीकार गरेका छन ।
कटहरियाका मेयर अजय प्रकाश जयसवालका कारण कटहरियाका खानेपानी सेवा लामो समयदेखि अवरुद्ध रहेको भनी सञ्चारकर्मी रवीन्द्र प्रजापतिले फेसबुकमा स्ट्याटस लेखेका थिए।
रवीन्द्रले लेखेको सो स्ट्याटसमा पत्रकार सागर संगम ठाकुरले मेयर जयसवाल गजेरी रहेको भनी व्यंग गर्दै कमेन्ट गरेका थिए।
सो विषयमा भएको विवाद सुल्झाउन कटहरियाका पत्रकार प्रकाश श्रेष्ठले कटहरियामा रहेको आफ्नै बोर्डिङ स्कूलमा हिजो साझ आफू र ती दुवै जना पत्रकारलाई बोलाउँदा आफू गएको मेयर जयसवालको भनाइ छ।
छलफलको क्रममा मेरो मान्छे र ती दुवैजना पत्रकारबीच सामान्य भनाभन हुँदै विवाद हुँदा दुवै पक्षबीच धकामुकी भएको उनले जनाए ।
सो क्रममा पत्रकार सागर संगम ठाकुरको शरीरको केही भागमा चोटपटक समेत लागेको छ ।
दुबैपक्ष बीच झगडा हुँदा आफू झगडा छुटाउने काम गरेको विषयलाई लिएर आफू नै कुटपिट गरेको भनी झुठा प्रचारबाजी गरिएको उनले बताए।
आफूले नचाहँदा चाहँदै पत्रकार ठाकुर माथि भएको घटनाले आफू निकै चिन्तित रहेको मेयर जयसवाले बताए ।
त्यस्तै आफूले पत्रकार प्रजापतिलाई गालीगलौज गरेको भनी सामाजिक सञ्जालमा भाइरल बनेको अडियो आफ्नो नरहेको समेत उनले दाबी गरेका छन ।
एआइको माध्यमले आवाज बनाई आफ्नो आवाज हो भनी गालीगलौज गरेर आफूलाई बद्नाम गर्न खोजेको बताउदै उनले आफू त्यस्तो गाली कसैलाई गर्नै नसकिने बताए।
आफ्ना मान्छेबाट भएको गल्ती प्रति मेयर जयसवालले उनीहरूको तर्फबाट क्षमा समेत मागेका हुन । अबदेखि यस्ता घटना नहुन दिने समेत उनले प्रतिबद्धता जनाएका हुन्।
त्यस्तै सञ्चारकर्मी रवीन्द्र प्रजापतिले मेयर अजय प्रकाश जयसवालको कारणले कटहरिया खानेपानीको सेवा अवरुद्ध रहेको भनी आफूमाथि लगाएको आरोप गलत, झुठा र भ्रामक रहेको समेत मेयर जयसवालले स्पष्ट पारेका हुन्।
खानेपानी समितिका केही पदाधिकारीहरु नै बाधक
ठाउँ ठाउँमा पाइप फुटेर अवरुद्ध भएको खानेपानी सुचारु गराउन आफू तयार रहेको भएपनी खानेपानी समितिका केही पदाधिकारीहरु नै बाधक बनेको उनको दाबी छ।
प्रजापतिले आफ्नो भनाई नै नराखी एकतर्फी ढंगले समाचार लेखेर आफूलाई बद्नाम गराउन खोजेको उनको कथन छ।
बन्द रहेको खानेपानी सुचारु गराउन आफू पुरै प्रयासमा रहेको बताउँदै उनले चाडै खानेपानी सुचारु हुने प्रतिबद्धता जनाए।






