वृजमान तामाङ
राजबिराज, जेठ ३१ । राजविराजका कर्मचारीहरु दुई धारमा विभाजित भएका छन । राजविराज नगरपालिकाका कर्मचारीहरु वीच काममा नफर्कने तथा कामकाज सुचारु गर्ने बारे जुहारी परेको छ । असुरक्षा भएको भन्दै एकपक्ष कामकाजमा नफर्कने तथा अर्को पक्ष नियमित कार्यालय संचालनमा ल्याउनु पर्ने भनि कर्मचारीहरु दुईधारमा बाँडिएका हुन् ।
राजबिराज नगरपालिका कर्मचारी ईकाई समिति अध्यक्ष कल्पना देव, लेखापाल सत्रुधन प्रसाद दाससहितका कर्मचारीले सुरक्षाको ग्यारेन्टी नभएसम्म कामकाज नफर्कने अडान कसकेका छन् भने अर्को समुहले नियमित कामकाज सुचारू गर्न माग गरेको छ।
अध्यक्ष देव समुहले पत्रकार सम्मेलन गर्दै कुटपिट लुटपाटमा संलग्न व्यक्तिहरुलाई कानूनी कारबाही गर्नुपर्ने, सुरक्षा व्यवस्था मिलाउनु पर्ने, शान्तिपूर्ण रुपमा कामकाज गर्ने बाताबरण मिलाउनु पर्ने, लुटिएको सुनको सिक्रीसहित घाइते कर्मचारीको उपचार खर्च उपलब्ध नगराएसम्म काममा नफर्कने बताएका छन् ।
यसैगरी राजबिराज नगरपालिका कर्मचारी ईकाई समिति अध्यक्षका प्रत्याशी ज्योतिष यादबको नेतृत्वमा नगरपालिका कर्मचारीहरूको टोलीले शुक्रबार नियमित कामसँगै कार्यालय संचालन गर्ने वातावरण मिलाईदिन माग सार्दै प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ज्ञापनपत्र बुझाएका छन्।
अध्यक्ष प्रत्यासी यादबले प्रजिअ दहाललाई ज्ञापनपत्र बुझाउदै नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समिति राजबिराजको ईकाई समिति विघटनभई नयाँ प्रक्रियामा रहेको अबस्थामा पुरानो समितिको नाममा गरिएको निर्णय प्रति आपत्ती रहेको जनाएको छ।
ज्ञापनपत्रमा आन्दोलन बन्द हडताल बिच पक्ष र बिपक्षमा जनप्रतिनिधिको गतिबिधिले नगरपालिकाको परिस्थिति असहज भएको अबस्थामा जनप्रतिनिधि घाईते र कर्मचारीहरूमाथि हातपात तथा सार्वजनिक सम्पति क्षति प्रति दुख ब्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलिय बैठकको निर्णयले स्थायी ईन्जिनियरलाई हाजरी र तलब खुवाउने आन्दोलनको कार्यक्रम स्थगित गर्ने लगायतको निर्णयवाट नगरपालिका समान्य अबस्थामा पुगि सकेको बिज्ञप्तीमा उल्लेख छ।
यस अवस्थामा जेष्ठ २९ गते कर्मचारी ईकाईको नाममा बसेको कर्मचारीहरूको बैठकमा हातपातका घटनामा संलग्न नभएकाको नाम उल्लेख गरी कार्यवाहीको माग गर्नु आन्दोलनमा कर्मचारीहरू विभिन्न बिरोधको कार्यक्रम राखी कर्मचारी– कर्मचारी बिच मतभेद उत्पन्न गराएको ज्ञापनपत्रमा भनिएको छ ।
कर्मचारीहरुको आन्दोलनले नगरपालिकाको कामकाज अस्तव्यस्त हुँदा सेवाग्राही मर्कामा परेका छन् ।






