निर्धारित समयमै कांग्रेसको महाधिवेशन हुनुपर्छ : डा. कोइराला



चितवन, असार १५ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन निर्धारित समय २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले महाधिवेशन निर्धारित समय मा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताउनुभयो । त्यसबाट महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उहाँले बताउनुभयो ।

अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उहाँले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरु छलफलमा बस्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ ।” रास्वपा र राप्रपाले गृहमन्त्रीको राजिनामाभन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको बताउनुभयो ।

प्रकाशित मिति: २०८२ असार १५, आईतवार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको