राजविराजमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु



वृजमान तामाङ
राजविराज, असार २१ । राजविराजमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सुरु भएको । राजविराज नगरपालिकाको सहयोगमा सप्तरी युथ नेपालले आयोजना गरेको उक्त प्रतियोगिता शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनका साथै युवामा खेलप्रतिको उत्साह अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

शनिबार आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा कार्यवाहक नगर प्रमुख ईसरत परविन, सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक दाहाल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतम कुमार केसीको उपस्थिति रहेको थियो। अतिथिहरूले संयुक्त रूपमा रिबन काटेर तथा ब्याडमिन्टन खेल्दै प्रतियोगिताको उद्घाटन गरेका थिए।

कार्यक्रम सप्तरी युथ नेपालका अध्यक्ष मोहन यादवको अध्यक्षतामा सञ्चालन गरिएको थियो। राजविराज वडा नं। २ स्थित शहीद आनन्द कबर्ड हलमा आयोजित समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुलचन्द्र न्यौपाने, सशस्त्र प्रहरी बलका उपरीक्षक ज्ञानमणि पौडेल, वडा नं। २ का वडा अध्यक्ष अरुण कुमार यादव, राजविराज नगरपालिकाका योजना अधिकृत मनोज कुमार यादव, शाखा अधिकृत कल्पना देव, जसपा नेता दिनेश यादव, ब्याडमिन्टन संघका दीपक कार्की, कबर्ड हल संयोजक नीरज कर्ण तथा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिए।

ब्याडमिन्टन संघका सचिव विष्णु यादवले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै कार्यक्रमको उद्देश्यमा प्रकाश पारे। उनका अनुसार खेलले व्यक्तिमा स्फूर्ति, लचकता, स्थिरता, तथा सन्तुलनको विकास गराउनुका साथै मानसिक चाप कम गर्ने माध्यमका रूपमा पनि प्रभावकारी भूमिका खेल्दछ।

यस प्रतियोगितामा कुल २५ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिता पुरुष डबल्स विधामा दुई वर्गमा विभाजन गरी सञ्चालन भइरहेको छ। आयोजक संस्थाका अध्यक्ष मोहन यादवका अनुसार खेल समापनसम्म रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

राजविराजमा पहिलोपटक मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो, जसले स्थानीय तहमा खेलकुदको प्रवर्द्धन तथा खेलाडीहरूको मनोबल वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ असार २१, शनिवार १९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको