डेविस कपमा सहभागी हुन नेपाली टेनिस टोली मलेसिया प्रस्थान गर्न तयार



काठमाडौं, असार २८ । डेविस कपमा सहभागी हुन नेपाली टेनिस टोली मलेसिया प्रस्थान गर्न तयार रहेका छन्। डेभिस कप टेनिस प्रतियोगितामा सहभागी हुन ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियातर्फ प्रस्थान गर्ने भएको छ। जुलाइ १६ देखि १९ तारिखसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना हुने प्रतियोगितामा नेपालले चार खेलाडीसहित प्रतिनिधित्व गर्नेछ।

टोलीमा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घले खेलाडीको रूपमा सहभागी हुनेछन्। टोलीका प्रशिक्षक जितेन्द्र परियार रहेका छन् भने व्यवस्थापकको भूमिकामा जयजीव हाडा रहेका छन्।

यस पटकको डेविस कपको समूह–४ अन्तर्गतको प्रतिस्पर्धामा नेपालसहित आठ राष्ट्र सहभागी हुनेछन्। तीमध्ये कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स रहेका छन्। सहभागी राष्ट्रहरू दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिनेछ।

डेविस कप विश्व टेनिसको सबैभन्दा प्रतिष्ठित पुरुष टिम प्रतियोगिता मानिन्छ, जसमा विभिन्न देशका टेनिस टिमले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने गर्छन्। नेपालले यस प्रतियोगितामा लामो समयदेखि सहभागिता जनाउँदै आएको छ।

टोलीलाई शुक्रबार एक विशेष कार्यक्रमबीच बिदाइ गरिएको थियो। बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मुल्ललगायत विभिन्न खेलकुद निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बिदाइ कार्यक्रममा मन्तव्य राख्दै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिचान स्थापित गर्ने जिम्मेवारी टिमका खेलाडीहरूमाथि रहेको बताए। उनले अनुशासन, लगनशीलता र टीमवर्कमार्फत उत्कृष्ट प्रदर्शन गर्न टोलीलाई सुझाव दिए।

डेविस कपमा सहभागी हुन नेपाल टेनिस संघका संयोजक मुल्लेले नेपाली टेनिसको विकासका लागि डेविस कपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आवश्यक भएको उल्लेख गर्दै टोलीको तयारी सन्तोषजनक रहेको जानकारी दिए।

प्रशिक्षक जितेन्द्र परियारले टोलीका खेलाडीहरू पछिल्ला महिनामा कडा प्रशिक्षणमा संलग्न रहेको र प्रतिस्पर्धाका लागि पूर्ण रुपमा तयार रहेको बताए। उनले टोलीले जितका लागि हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

डेविस कपमा नेपाली टोलीको सहभागिताबाट नेपालको टेनिस खेलको अन्तर्राष्ट्रिय क्षेत्रमा थप पहिचान बन्ने विश्वास गरिएको छ। प्रतिस्पर्धात्मक अनुभव र अन्तर्राष्ट्रिय exposure प्राप्त गर्ने अवसरका रूपमा यो प्रतियोगिता महत्वपूर्ण रहेको बताइएको छ।

प्रकाशित मिति: २०८२ असार २८, शनिबार ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको