श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित



काठमाडौं, असार ३२ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकाविरुद्ध नेपालले ७–० को फराकिलो जित हासिल गरेको छ ।

मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स अरिनाको अभ्यास मैदानमा सम्पन्न खेलमा श्रीलंकाविरुद्ध नेपालले ७–० को फराकिलो जित हासिल गरेको हो । नेपालका लागि मीनाबाहेक पूर्णिमा राई र समीक्षा मगर र सरीता नाथले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए । पूर्णिमाको नाममा दुई गोल रह्यो ।

पहिलो हाफमा पाँच गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गरेको हो ।

आठौं मिनेटमा मीनाको सुन्दर गोलमा नेपालले सुरुआती अग्रता लियो । मिडफिल्डर सुशिला केसीको पासलाई सदुपयोग गरेकी मीनाले विपक्षी खेलाडी चसीला उडागेडाराई ड्रिबल गर्दै ‘राइट फुटेड’ प्रहार गरेकी थिइन् । पेनाल्टी बक्सभन्दा थोरै परबाट मीनाले लिएको प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

पाँच मिनेटपछि सेन्ट्रल मिडफिल्डर समीक्षाको लेफ्ट फुटेड प्रहारमा श्रीलंकन गोलकिपर थारुसिका ‘बिट’ भइन् । अनियन्त्रित रक्षापङ्क्तिको फाइदा उठाउँदै स्ट्राइकर पूर्णिमा राई प्रहारका लागि तयार भएकै बेला पछाडिबाट ‘रन’ बनाएकी समीक्षाले गोलको प्रयास गरिन् । जसमा उनी सफल भइन् ।

खेलको ४२औं मिनेटमा मीनाले खेलको तेस्रो गोल गरिन् । सेन्टर ब्याक माया मास्केको प्रहार गोलकिपर थारुसिकाले बचाएकी थिइन् । प्राप्त रिबाउन्डमा मीनाले बललाई पोस्टको दिशा दिएकी हुन् ।

पहिलो हाफको इन्जुरी समयमा पूर्णिमाले लगालग दुई गोल गरिन् । दुबै गोल समीक्षा राईको सुन्दर थ्रु पासमा सम्भव भएको हो । पूर्णिमाले लगातार ‘वान भर्सेस वान’मा थारुसिकालाई ‘बिट’ गरेकी थिइन् ।

दोस्रो हाफमा नेपालले गोलका लागि २५ मिनेट कुर्नुपर्यो । ७०औं मिनेटमा वर्षा ओलीको कटब्याकमा मीनाले आफ्नो ह्याट्रिक पूरा गरिन् । वर्षाको कटब्याकलाई विपक्षी रक्षक गगानी सेल्लाप्पेरुमेगले क्लियर गर्न नसक्दा मीनाले त्यसको फाइदा उठाइन् ।

इन्जुरी समयमा नेपालले सेटपीसको फाइदा उठाउँदै सातौं गोल गर्यो । सेन्टर ब्याक सरीता नाथले करिब २५ यार्ड परबाट गरेको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो । यसअघि विपक्षी खेलाडी दुलिनी अराककिलेगेबाट मीना फउल भएपछि नेपालले फ्रिकिक अवसर प्राप्त गरेको थियो ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधवार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको