काठमाडौं, साउन १ । तीन वर्षपछि क्रिकेटर आदिल अन्सारी नेपाली राष्ट्रिय टिमको क्याम्पमा फर्किएका छन्। २०७९ मा नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि निलम्बनमा परेका उनले २०८१ मा सफाइ पाएका थिए। तर, पुनरागमनका लागि आइसीसीको स्वीकृति लगायत विभिन्न प्रक्रियाका कारण तीन वर्षपछि आदिल अन्सारीको राष्ट्रिय टिममा कमव्याक हुन सकेको हो ।
अब उनी अक्टोबरमा हुने टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ सदस्यीय प्रारम्भिक टोलीमा परेका छन्। यससँगै फेरि उनका हेलिकप्टर सट र विस्फोटक ब्याटिङको चर्चा सुरु भएको छ।
२१ वर्षीय आदिलले २०७८ मा पीएनजीविरुद्ध टी-२० डेब्युमा ११ बलमा ३१ रन प्रहार गर्दै चर्चा कमाएका थिए। तर त्यसपछि निरन्तरता दिन नसक्दा प्रदर्शन खस्कियो। ओडीआई डेब्युमै उनले अमेरिकाविरुद्ध २४ बलमा ३६ रन बनाएर ३ विकेटसमेत लिएका थिए।
उनको समग्र रेकर्ड मिश्रित छ — ओडीआईमा ६ म्याचमा ७० रन र ६ विकेट, टी(२० मा ८ म्याचमा ११० रन र ५ विकेट। दुबै फर्म्याटमा उच्च स्कोर डेब्युमै छ।
प्रतिबन्धपछि उनले भारतको एएसआर कपमा ४० बलमा ११४ रनको इनिङ खेलेर सम्भावना प्रमाणित गरेका छन्। तर राष्ट्रिय टिममा अहिलेको प्रतिस्पर्धा तीव्र छ, जहाँ कुशल मल्लजस्ता खेलाडीले पनि स्थान गुमाइरहेका छन्।
आदिलसँग अलराउन्डर बन्ने क्षमता अवश्य छ, तर पुनः टिममा स्थान पक्का गर्नका लागि उनलाई आफ्नो स्किलमा स्थायित्व र सुधार देखाउन आवश्यक छ। अब हेर्न बाँकी छ— के उनले पुरानो चमक फर्काउन सक्नेछन् ?




