एजेन्सी, साउन ५ । बंगलादेशको राजधानी ढाकामा सोमबार एक भीषण विमान दुर्घटना भएको छ। बंगलादेश वायुसेनाको एफ(७ बीजीआई नामक एक प्रशिक्षण जेट उत्तरा क्षेत्रस्थित माइलस्टोन स्कूल एन्ड कलेजको भवनमा ठोक्किँदा ठूलो जनधनको क्षति भएको छ।
प्राप्त जानकारी अनुसार, यो दुर्घटनामा हालसम्म १९ जनाको ज्यान गएको पुष्टि गरिएको छ भने सयभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैजसो विद्यार्थी र शिक्षकहरू रहेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार, नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीका चिकित्सकहरूले ५० भन्दा बढी व्यक्ति आगोले जलेको अवस्थामा अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।
बंगलादेशी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा वायुसेनाको एफ(७ बीजीआई जेट विमान सोमबार दिउँसो १ बजे (स्थानीय समय) उडेको र त्यसपछि उत्तरा क्षेत्रमै दुर्घटनाग्रस्त भएको जनाइएको छ।
दुर्घटना माइलस्टोन स्कूल एन्ड कलेजको भवनमा जेट ठोक्किएपछि भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, विमान ठोक्किएपछि आकासमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो, जसलाई टाढाबाट पनि सजिलै देख्न सकिन्थ्यो।
दुर्घटनापछि तुरुन्तै उद्धार र राहत कार्य सुरु गरिएको थियो। बंगलादेशी सेना, दमकलकर्मी, नागरिक सुरक्षा तथा अन्य निकायका आठवटा टोली घटनास्थलमा परिचालित भएका छन्। अहिले पनि खोज तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुसले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्स ९पूर्व ट्विटर० मा लेख्दै सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् र सम्बद्ध सबै निकायलाई उच्च प्राथमिकताका साथ राहत तथा उपचार कार्य गर्न निर्देशन दिएका छन्। साथै उनले घटनाको कारण पत्ता लगाउन छानबिन गरिने र आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्।
दुर्घटनामा परेको एफ(७ विमान चीनको चेंग्दू एयरक्राफ्ट इन्डस्ट्री ग्रुप द्वारा निर्माण गरिएको थियो। यो विमान चीनमा निर्मित चेंग्दू जे(७ को संस्करण हो। यस घटनापछि पुनः चिनियाँ फाइटर विमानहरूको गुणस्तरमाथि प्रश्न उठ्न थालेको बंगलादेशी सञ्चार माध्यमहरूले जनाएका छन्।






