ओपिडीको मात्र भरमा गौरको अमनराज हेल्थ केयर सञ्चालनमा



ओम प्रकाश यादव
रौतहट , साउन १६ । रौतहटको गौरमा रहेको अमनराज हेल्थ केयर सेन्टर प्रालिले वर्षौंदेखि ओपिडीको मात्र भरमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको पाइएको छ। प्रादेशिक अस्पताल गौर आगाडी संचालित अमनराज हेल्थ केयर सेन्टरले विगत पाँच वर्षदेखि सर्व साधारण नागरिकको जीवन संग खेलवाड गर्दै आएको छ।

अमनराज हेल्थ केयर सेन्टर सञ्चालन गर्न अनुमति लिएपनि हस्पिटलको रूपमा सेवा दिँदै आएको बताइएको छ।

हेल्थ केयर सेन्टरले बिरामीलाई सामान्य चेकजाँच गर्ने, सामान्य रोग लागेका बिरामीलाई हेरेर औषधि उपचार गर्न पाउने व्यवस्था छ तर अमनराज हेल्थ केयर सेन्टरले हस्पिटलले उपलब्ध गराउने सेवा दिँदै बिरामीको जीवन संग खेलवाड गर्दै आएको छ भने बिरामीलाई लुट्ने काम समेत गर्दै आएको छ।

उक्त हेल्थ केयर सेन्टरले मापदण्ड विपरीत विभिन्न अप्रेशन, डीलेवरी, अप्रेशन द्वारा प्रसूति गराउने देखि लिएर बिरामीलाई भर्ना गरेर उपचार गर्दै आएको छ। उक्त हेल्थ केयर सेन्टरले गौर नगरपालिकाबाट पाँच बेडको अनुमति लिएपनि पाँच बेडभन्दा बढी सञ्चालन गर्दै आएको छ।

सञ्चालक इलीयास अन्सारीले मापदण्ड विपरीत हस्पिटल सञ्चालन गरी मानव स्वास्थ्य जीवनसँग खेलवाड गर्दै आएको स्थानीयहरूले गुनासो गरेका छन्। बिना इमर्जेन्सी वार्ड सञ्चालन गरी मात्र ओपिडीको भरमा उक्त हस्पिटल सञ्चालन हुँदै आएको छ।

इमर्जेन्सी सेवा सञ्चालन नगरी बिरामी भर्ना गर्न पाइँदैन तर अमनराजका सञ्चालक अन्सारीले इमर्जेन्सी सेवा नै सञ्चालन नगरी खुलेयाम बिरामी भर्ना गरेर उपचार गर्दै आएको स्थानीयको भनाइ छ। हस्पिटलले गौर नगरपालीकाबाट इमर्जेन्सी सेवा सञ्चालन गर्ने अनुमति लिएको हो तर इमर्जेन्सी सेवा सञ्चालन निकै झन्झटिलो र खर्चिलो हुने भएकोले इमर्जेन्सी सेवा बिनै उपचार गरिरहेको स्थानीयबासिन्दा बताउँछन्।

मापदण्ड विपरीत गैर कानूनी तरिकाले मापदण्ड अनुसारको डाक्टर नै नराखि त्यस्तै सिएस सेवा सञ्चालन गर्न एमडी डाक्टर अनिवार्य हुनुपर्ने प्रावधान छ तर अमनराज हेल्थ केयरले एमडी डाक्टर नराखि ल्याब पढेका चिकित्सकबाट प्रसूति गराएर बिरामीको जीवन संग गम्भीर खेलवाड गर्दै आएको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय बताउँछन् ।

नियम कानुन विपरीत कसैले स्वास्थ्य संस्था सञ्चालन गरे स्थानीय सरकारले तुरुन्त अनुगमन गरी कार्यवाही गर्नुपर्छ तर गौर नगरपालिकाले उक्त हेल्थ केयरलाई कार्यवाही गर्न चुकेको देखिन्छ । इमर्जेन्सी सेवा सुचारु नै नगरी निर्वाध रूपमा बिरामी भर्ना गरी उपचार गरिरहँदा पनि गौर नगरपालिका कुनै एक्शन लिन सकेको छैन।

इमर्जेन्सी सेवा सञ्चालन गरेको छैन भने गौर नगरपालिकाले के हेरेर इमर्जेन्सी सेवा सञ्चालन गर्न अनुमति दिएको भनी प्रश्न चिन्ह समेत खडा भएको छ। पालिका स्थलगत अनुगमन गरेर मात्र इमर्जेन्सी सेवा सञ्चालन गर्ने अनुमति दिन्छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटेको प्रहरी टोलीले हिजो बेलुका मात्र अमनराज हेल्थ केयर सेन्टरमा छापामारी गरेको थियो। छापा हानेर प्रहरीले उक्त केयर सेन्टरका सञ्चालक इलीयास् अन्सारी र एक महिलालाई समेत नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुलाई के कारणले प्रहरी नियन्त्रणमा लिएको थियो भन्ने कुरा खुल्न सकेको छैन । तर स्थानीयका अनुसार एक जना महिलाको गर्भ तुहाउन लाग्दा प्रहरीले हस्पिटलमा छापा हानेर सञ्चालक, डाक्टर र महिला तीनैजनालाई नियन्त्रणमा लिएको थियो। तर जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले कसैलाई पक्राउ नगरी प्रहरीले छापामारी मात्र गरेको बताएका छन्।

यस बारे अनुसन्धान भइरहेको र दोषी देखिए ती हस्पिटलका सञ्चालक र उपचारमा संलग्न डाक्टरलाई कार्यवाही गर्ने एसपी गिरीले बताए। उक्त हेल्थ केयर सेन्टर मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्ने व्यापक गुनासो आएकोले सम्बन्धित निकाय सहित आफूहरु चाडै अनुगमन गर्ने रौतहटका प्रहरी उपरीक्षक गिरीले बताए ।

मापदण्ड विपरीत उक्त हस्पिटल सञ्चालन गरेको पाइए कडा कार्यवाही गर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० दिलीप घिमिरेले चेतावनी दिएका छन्। उक्त हेल्थ केयर सेन्टरमा चाडै अनुगमन गर्ने र अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेको फेला परे कडा कार्यवाही गर्ने सीडीओ घिमिरेले बताए ।

यता गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले उक्त हेल्थ केयर सेन्टर मापदण्ड विपरीत सञ्चालनमा रहेको बारे अनभिज्ञता प्रकट गरेका छन् ।

यस बारे आफुलाई केही थाहा नरहेको बताउँदै मेयर साहले आफु आजै अनुगमन निरीक्षण गर्ने र गलत गरेको देखिए कडा कार्यवाही गर्ने बताए ।

अमनराज हेल्थ केयर सेन्टरका सञ्चालक इलियास् अन्सारीले आफ्नो हेल्थ केयर मापदण्ड विपरीत सञ्चालनमा नरहेको बताउँछन् । आफूले स्थानिय सरकारबाट पाएको अनुमति अनुसार नै सेवा सञ्चालन गर्दै आएको संचालक अन्सारीले बताएका छन्।

पालिकाबाट आफूले इमर्जेन्सी सेवा सञ्चालन गर्ने अनुमति पाएको स्वीकार गर्दै अन्सारीले इमर्जेन्सी सेवा सञ्चालन गर्न आवश्यक नपरेकोले ती सेवा सुचारु नगरेको बताए ।

प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको