काठमाडौं, साउन २३ । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ। नेपालले साउदीलाई १–० गोल अन्तरले पराजित गरेको हो।
चाङलिमिथाङ स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि विजयी गोल ९०औं मिनेटमा आयो। मिना देउवाको उत्कृष्ट पासमा शुक्रिया मियाँले ट्याप–इन गोल गर्दै नेपाललाई तीन महत्वपूर्ण अंक दिलाइन्।
खेल अवधिभर दुबै टोलीले अवसरहरू सिर्जना गरे पनि फिनिशिङमा नेपाल सफल रह्यो। ३७औं मिनेटमा नेपालले पेनाल्टीको मौका पाएपनि मिना देउवाको प्रहार बारमा लागेर गोलमा परिणत हुन सकेन। त्यस्तै, साउदी अरेबियाले पनि केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो।
नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो। यता, साउदी अरेबियाले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को लज्जास्पद हार बेहोरेको थियो।
अब नेपालले समूहको बलियो टोली उत्तर कोरियासँग आइतबार खेल्नेछ। पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोलीका लागि समूह विजेता बन्ने सम्भावनामा केही चुनौती देखिएको छ।
यस छनोट प्रतियोगिताबाट प्रत्येक समूहको विजेता तथा तीन उत्कृष्ट उपविजेता टोलीले यू–२० महिला एसियन कपमा स्थान बनाउनेछन्।




