शीतलनिवासमा सहमति : सुशीला कार्की आजै प्रधानमन्त्री, प्रतिनिधिसभा विघटन हुने



काठमाडौं,भदौ २७ । देशको राजनीतिक संकट समाधानका लागि शीतलनिवासमा शुक्रबार दिनभर चलिएको छलफलपछि सहमति जुटेको छ । सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री बनाइने भएको छ भने प्रतिनिधिसभा विघटन गर्ने तयारी समेत गरिएको छ ।

शीतलनिवासका स्रोतका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल, प्रमुख दलका नेता र सेनापतिकाबीचको बहसपछि कार्कीलाई सरकार प्रमुख बनाउने र संसद् विघटन गर्ने निष्कर्ष निस्किएको हो । कार्कीलाई साँझ ९ बजे शपथ गराउने तयारी भइरहेको छ ।



जेनजी आन्दोलनको दबाबका बीच सहमति बनेको हो । आन्दोलनकारीहरूले तत्कालै शीतलनिवास घेराबन्दी गर्ने चेतावनी दिएपछि राष्ट्रपति पौडेल संसद् विघटनमा सहमत भएका हुन् । यसअघि दलहरूले संसद्भित्रैबाट कार्कीलाई अघि सार्ने सुझाव दिएका थिए तर कार्कीले संसद् कायम रहेर सरकार चलाउने अडान स्वीकारेकी थिइनन् । काठमाडौं महानगरका मेयर बालेन शाहलगायत नेताहरूले पनि संसद् विघटनलाई न्यूनतम सहमति मानेका थिए ।

दिउँसोसम्म निष्कर्ष ननिस्किएपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकालको चेतावनी दिएका थिए । तर, दोस्रो तहका नेताहरूले संकटकाल अस्वीकार गर्दै सडकमा उत्रिने बताएका थिए । त्यसपछि दबाबकै कारण जेनजी आन्दोलनले प्रस्ताव गरेको नाममा सहमति जुटेको हो ।

नेपाली कांग्रेस, एमाले र माओवादीसहितका दलका नेताहरू अन्ततः आन्दोलनको म्यान्डेटलाई स्वीकार गर्दै कार्कीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमतिमा पुगेका छन् । अहिले शीतलनिवासमा संसद् विघटनको निर्णय र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्र तयार गर्ने काम भइरहेको छ ।

यससँगै नेपालले पहिलोपटक महिला सरकार प्रमुख पाउने भएको छ । आज बेलुकै शपथपछि कार्कीको नेतृत्वमा नयाँ राजनीतिक अध्याय सुरु हुने छ ।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार २०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको