गरुडा प्रहरीद्धारा ठूलो परिमाणको लागुऔषध गाँजा जलाएर नष्ट



ओम प्रकाश यादव
रौतहट, असोज २७ । रौतहटको गरुडा प्रहरीले केही महिना अघि ब्रोजा कारसहित बरामद गरेको ठूलो परिमाणको लागुऔषध गाँजा आज सार्वजनिक रूपमा जलाएर नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय गरुडाले बरामद गरेका १ सय ३१ किलो लागू औषध गाँजा आज आगो लगाई जलाएर खाल्डोमा पुरेको हो ।



लागुऔषध दुव्र्यसन तथा तस्करी नियन्त्रण अभियानअन्तर्गत प्रहरीले कानुनी प्रक्रिया पूरा गरी उक्त लागुऔषध गाँजा नष्ट गरेको हो।

गत साउनमा इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले गरुडा झाझपुल छेउबाट एक ब्रोजा कारभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाण बराबरको गाँजा बरामद गरेको थियो।

गौर चपुर सडकखण्ड भएर कार भित्र लुकाएर लैजाँदै गरेको अवस्थामा गाडीलाई पछ्याएर प्रहरीले उक्त गाडी सहित गाँजा नियन्त्रणमा लिएको थियो ।

तर कानुनी प्रक्रिया पूरा नहुँदा गाँजा नष्ट गर्ने कार्यमा ढिलाइ हुँदै आएको थियो । कानुनी प्रक्रिया पूरा भएपछि आज इलाका प्रहरी कार्यालय गरुडा अगाडि बरामद गरिएका ती सबै गाँजा आगो लगाएर जलाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी शंकर प्रसाद आचार्यले बताएका छन्।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी, जनप्रतिनिधि, पत्रकार, तथा अन्य सरोकारवालाहरूको रोहबरमा उक्त गाँजा नष्ट गरिएको डीएसपी आचार्यले बताए।

गरुडा प्रहरी कार्यालयका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले भने, “समाजमा लागुऔषधको बढ्दो समस्या नियन्त्रण गर्न हामी कडाइका साथ निगरानी र कारबाही गरिरहेका छौं।

बरामद गरिएको गाँजा प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया पूरा गरेपछि कानुन बमोजिम नष्ट गरिएको हो।”

स्थानीयहरूले पछिल्लो समय जिल्लामा गाँजा र अन्य नशालु पदार्थको कारोबार र प्रयोग बढिरहेको भन्दै कडा निगरानी र कारबाहीको माग गरेका छन्।

गरुडाका समाजसेवी रामजी साहले भने, “जसरी प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेर नष्ट गर्‍यो, त्यसले समाजमा सकारात्मक सन्देश दिएको छ। तर यो समस्या जरोदेखि उखेल्न समुदाय र राज्यको साझा प्रयास जरुरी छ।”

यो घटना प्रहरीको सक्रियता र प्रतिबद्धताको उदाहरण भए पनि लागुऔषधको शृंखलाबद्ध कारोबार र प्रयोग रोक्न प्रहरीले अझ सशक्त कदम चाल्नुपर्ने आवश्यक रहेको देखिन्छ।

गाँजा कारोबारमा संलग्न मुख्य स्रोत र तस्करी नेटवर्क पहिचान गरी दण्डित नगरेसम्म समस्या समाधान नहुने स्थानीयहरुको भनाइ छ।

प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार १८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको