काठमाडौं ,असोज २८ । सोमबार राति कतारविरुद्ध नेपालको जितमा महत्त्वपूर्ण प्रदर्शनपछि पूर्वकप्तान सन्दीप लामिछानेले समर्थकको नाममा सन्देश दिएका छन् ।
जितपछि हाम्रो खेलकुदसँग कुराकानीका क्रममा सन्दीपले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै देशको भलोको कामना गरे ।
उनलाई ‘फ्यानलाई आफ्नो तर्फबाट केही भन्न चाहनुहुन्छ रु’ भन्ने प्रश्नमा सन्दीपले भने, ‘एकदम माया दिइरहनुभएको छ, माया दिइरहनुहोला । नेपाल क्रिकेटलाई यो जर्नीमा साथ दिनुहोला । मलाई पर्सनल्लीभन्दा पनि यो देशको भलो होस्, हाम्रो देशले राम्रो गरिराखोस्, देशको सम्पूर्ण जनताले खुसीसँग बाँच्ने उहाँको अधिकार छ, त्योचाहिँ बाँचिराख्न पाउँ हामी सबै जना । नेपाली भनेर हामी विश्वभरीमा जसरी चिनिन्छौँ, त्यो नेपालीपन एकअर्कामा भाइचारा बढाइराखेर देशलाई कसरी हित हुन्छ, त्यसको बारेमा सोचौँ, धन्यवाद ।’
उनले आफ्नो भूमिकाबारे उल्लेख गर्दै नेपालको जितमा खुसी व्यक्त गरे । उनले खेलमा सबै खेलाडीको महत्त्वपूर्ण भूमिका हुने बताउँदै जितको जस सबैले पाउनुपर्ने बताए । उनले कतारविरुद्धको आफूले गरेको अन्तिम बलमा विकेट किपरको रुपमा आशिफ शेखले खेलेको भूमिकाको प्रसंशा गरे ।




