एनपीएलमा लुम्बिनीद्वारा चितवन ६ विकेटले पराजित



काठमाडौँ, मंसिर ५ । नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ अन्तर्गतको खेलमा लुम्बिनी लायन्सद्वारा चितवन राइनोज ६ विकेटले पराजित भएको छ ।
टीयु क्रिकेट मैदानमा खेलिएको यस प्रतिस्पर्धामा चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८ ओभर ३ बलमै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा गुल्बादिन नइबको उत्कृष्ट प्रदर्शन मुख्य रह्यो । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४४ रन जोडे । कप्तान रोहित पौडेलले ३९ रन बनाउँदै टिमलाई जिततर्फ अघि बढाए भने सन्दीप जोराले २८ रनको योगदान दिए । अन्य ब्याट्सम्यानहरूमा डार्सी सर्ट ११ र दीपक नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । चितवनका तर्फबाट रिजन ढकालले २ तथा सोहिल तन्विरले १ विकेट लिए ।



यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । टिमका लागि रवि बोपारा सर्वाधिक ६५ रनको शानदार पारी खेले । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, देव खनालले १४, दीपक बोहराले १० तथा सोहिल तन्विरले ५ रन जोडे । डेविड मलान खाता नखोली आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे ।

लुम्बिनीका बलर रुवेन ट्रम्पेल्मेनले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । साथै अभिषेक गौतम र गुल्बादिन नइबले दुई–दुई विकेट लिँदै चितवनको ब्याटिङलाई दबाबमा पारे । यस जितसँगै लुम्बिनीले अंक तालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर ५, शुक्रबार ०८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको