सन्दीपको टिमलाई रोक्न चल्नुपर्छ बोपाराको ब्याट, नत्र बढ्नेछ चितवनको चिन्ता



काठमाडौं ,मंसिर १० । रोहिकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स फेरि एनपीएल सिजन १ कै अवस्थातिर उन्मुख हुँदैगर्दा करण केसी नेतत्वको काठमाण्डू गोर्खाजले चार खेलमा दुई जित दर्ता गरेर संकेत दिएको छ- हामीलाई पोहोरको जस्तो कमजोर नठान्नू, यसपालि हामी पाँचौँ स्थानमा सीमित हुन चाहँदैनौँ ।

तीन खेलमध्ये दुई हारिसकेको लुम्बिनी लायन्समाथि दबाब अझै बढेको छ । अंक तालिकामा ‘कमब्याक’ गर्न उसका लागि सानोतिनो मेहनत काफी छैन । सिजन १ को च्याम्पियन जनकपुर बोल्टसको त कन्तबिजोग नै छ । उसले अहिलेसम्म खेलेका दुवै खेल हारेको मात्र छैन, सिजन १ को सबैभन्दा कमजोर टिम लुम्बिनीलाई आफूभन्दा माथि पारेर बस्न विवश छ ।

कुशल भुर्तेलले व्यक्तिगत रूपमा राम्रै खेल देखाइरहेका छन् तर उनको नेतृत्वमा रहेको पोखरा एभेञ्जर्सले यसपालि पनि आफ्ना समर्थकलाई निराश पार्ने देखिँदै छ । शंका के छ भने, यस्तै खेल रह्यो भने यसपालि पोखराले सिजन १ को लुम्बिनीको ठाउँमा सीमित हुनुपर्ने छ– ८ टिममा आठौं स्थानमा । तर, समर्थकलाई भरोसा छ– पोखराले ‘कमब्याक’ गर्ने छ ।

आज विराटनगर भर्सेस चितवन

आज हुने म्याच, जहाँ एनपीएल सिजन २ मा धमाकेदार प्रदर्शन गरिरहेको विराटनगर किंग्स र ठीकठीकै देखिएको चितवन राइनोज भिड्दैछन् । रनरेटमा थोरैले पछि परेर विराटनगर अंक तालिकामा सुदूरपश्चिमभन्दा तल छ । तर, आजको खेल जितेर विराटनगरलाई दोस्रोबाट पहिलो स्थानमा उक्लिने अवसर छ । यति मात्र होइन, आज जितेमा उसले प्लेअफको ढोका लगभग खोल्ने छ ।

पोहोर अर्थात एनपीएल सिजन १ मा विराटनगरले केही खेलमा राम्रो खेलेको थियो । लुम्बिनी लायन्सले १ सय ९१ रनको लक्ष्य दिँदा विराटनगरले १ सय ९३ रन बनाएर इतिहास रचेको थियो । सबै खेलमा राम्रो गर्न नसकेपछि विराटनगर छैठौं स्थानमा चित्त बुझाउन बाध्य भयो । त्यो बेला टिमको सन्तुलन र कन्सिस्टेन्सीमा समस्या देखिएको थियो । तर, यसपालिको खेल हेर्दा लाग्छ, यी ‘किंग्स’ पूर्वबाट उपाधि लिनकै लागि कीर्तिपुर आएका हुन् ।

अहिलेसम्म खेलेका तीन खेल सजिलै जितेको विराटनगरमा कप्तान सन्दीप लामिछानेले आफ्नो ‘क्लास’ देखाइरहेका छन् । अघिल्लो सिजनमा उनको प्रदर्शन झुर थियो । तर, यसपल्ट सन्दीपले आफ्नो ‘प्राइमकै क्लास’ झल्किने गरी प्रदर्शन गरिरहेका छन् । आगामी म्याचमा पनि उनले यो लय गुमाएनन् भने उपाधि यात्रामा विराटनगरलाई रोक्न अरु टिमलाई धेरै कठिन हुनेवाला छ ।

एनपीएल सिजन २ का ८ टिममध्ये विराटनगर त्यस्तो टिमका रूपमा देखिएको छ, जसको बलिङ र ब्याटिङ लाइन सन्तुलित अनि भरोसायोग्य छ । त्यसैले धेरैले उसलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ ।
अहिलेसम्मको प्रदर्शन हेर्दा, अर्को दाबेदारका रूपमा दीपेन्द्र सिंह ऐरीको सुदूरपश्चिम रोयल्स नै देखिएको छ ।

एनपीएल सिजन २ मा विराटनगरले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा धमाका मच्चाइसकेका फाप डु प्लेसिसदेखि दक्षिण अफ्रिकी बलर मर्सान्ट डी लाङ्गलाइ टिममा थपेको छ । डु प्लेसिस अहिले यूएईको अबुधाबी टी १० लिग खेलिरहेका छन् । त्यसैले उनलाई विराटनगरको सुरुवाती खेलमा देख्न पाइएन । उताको लिग सकेर उनी नोभेम्बर अन्तिम वा डिसेम्बरको सुरुवातमा नेपाल आउन सक्छन् ।

यता, विराटनगरले पनि प्रतियोगितामा आफ्नो स्थान बलियो बनाएकाले डु प्लेसिसलाई एनपीएलमा देख्न नपाइएला कि भन्ने समर्थकको चिन्ता अहिलेलाई टरेको छ ।

दक्षिण अफ्रिकाका ब्याटर डु प्लेसिससँग आईपीएलसहित संसारका मुख्य लिगहरू खेलेको अनुभव छ । आईपीएलमा उनले १ सय ५४ खेल खेलेर ३९ अर्धशतकसहित ४ हजार ७ सय ७३ रन बनाएका छन् । अहिले अबुधाबी टी १० लिगमा उनी भिस्टा राइडर्सबाट खेलिरहेका छन् । उनको टिमले ५ मध्ये ३ खेल जितेको छ भने २ वटा हारेको छ । डी प्लेसिसको व्यक्तिगत प्रदर्शनको हेर्ने हो भने, उनले ५ खेलमा १ सय १६ रन बनाएका छन् । लिगमा उनको उच्च स्कोर भनेको ५३ रन छ । यो भनेको ठीकठीकै खालको प्रदर्शन हो । जे होस्, डी प्लेसिसको आगमनले विराटनगरको टिम अझ बलियो बन्ने विश्वास गर्न सकिन्छ ।

विराटनगरसँग यसपल्ट नयाँ विदेशी खेलाडीका रूपमा मर्सान्ट डी लाङ्ग पनि छन् । उनी पनि दक्षिण अफ्रिकाका बलर हुन् । उनले पनि आईपीएल खेलेका थिए । आइपीएलमा पाँच खेलबाट उनले पाँचै विकेट लिएका थिए । पहिलोपल्ट एनपीएल खेलिरहेका उनले विराटनगरका लागि सुरुदेखि नै राम्रो प्रदर्शन गरिरहेका छन् । काठमाडौंविरुद्धको खेलमा त उनी ‘प्लेयर अफ द म्याच’ नै चुनिएका थिए । अहिलेसम्म पाँच विकेट लिइसकेका उनी आज चितवनका लागि घातक हुन सक्छन् ।

रोचक के भने, एनपीएलको पहिलो संस्करणमा चितवन राइनजोमा अनुबन्ध भएर पनि खेल्न नआएका डी लाङ्ग दोस्रो सिजनमा त्यही टिमविरुद्ध पहिलोपल्ट खेल्दैछन् ।

विराटनगरको अर्को भरोसा भनेका न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिल हुन् । एनपीएलको दोस्रो संस्करणमा उनले तीन खेलबाट एक अर्धशतसहित ९९ रन बनाइसकेका छन् । आज चितवनविरुद्धको खेलमा पनि गप्टिलबाट विराटनगरका फ्यान्सले ठूलो आशा गरेका छन् । गप्टिल पनि आईपीएललगायत ठूला लिग खेलेका अनुभवी ब्याट्सम्यान हुन् ।

आज विराटनगरले ओपनिङमा लोकेश बम र जर्ज मुन्सेलाई नै उतार्न सक्छ । बलिङतर्फ विराटनगरलाई सन्दीपसँगै डी लाङ्ग, प्रतिश जीसीलगायतको बलियो भरोसा छ ।

उता, चितवन राइनोजमा पनि रवि बोपारा, सोहेल तनवीर, डेभिड मलान, सेफ जेबजस हस्तीको भरोसा छ ।

रवि बोपारा इंग्ल्याण्डका ब्याटिङ अलराउन्डर हुन् । उनी आईपीएल खेलिसकेका क्रिकेटर हुन् । उनले किंग्स ११ पञ्जाब र सनराइजर्स हैदराबादबाट आइपीएल खेलेका छन् । बोपाराले आइपीएलमा २४ खेल खेल्दा तीन अर्धशतकसहित ५ सय ३१ रन बनाएका छन् । उनको नाममा १७ विकेट पनि छ ।

एनपीएलको पहिलो सिजन पनि उनले चितवन राइनोजबाटै खेलेका थिए । दोस्रो सिजनका सुरुवाती दुवै खेलमा उनले अर्धशतक पूरा गरेका छन् । अहिलेसम्म १ सय १८ रन बनाइसकेका उनले दुई विकेट पनि लिएका छन् । यसको अर्थ, चितवनलाई बोपाराले ब्याटिङमा मात्र होइन, बलिङमा पनि राम्रो साथ दिन सक्छन् । आजको खेलमा पनि बोपाराको ब्याट चल्यो भने विराटनगरलाई गाह्रो हुनेवाला छ ।

चितवनसँग डेभिड मलान पनि छन् । तर, अहिलेसम्म उनले अपेक्षाकृत खेल देखाउन सकेका छैनन् । चितवनका लागि उनले दुई खेलबाट ६ रन मात्रै बनाउन सकेका छन् ।

सोहेल तनवीरले चितवनलाई ठूलो योगदान गर्न सक्छन् । ब्याटिङ मात्र होइन उनी बलिङमा पनि राम्रो गर्न सक्ने खेलाडी हुन् ।

अर्का छन् सैफ जैब, जसले ब्याटिङ र बलिङमार्फत चितवनको पक्षमा नतिजा पल्टाइदिने क्षमता राख्छन् । एनपीएल सिजन १ मा सुदूरपश्चिम उपविजेता बन्दा जैब टिमका महत्त्वपूर्ण सदस्य थिए ।

चितवनको खेल नियाल्ने हो भने, कहिलेकाहीँ कप्तान कुशल मल्ल आफैँले पनि चकित पार्ने गरी खेलिदिन्छन् । तर, अहिलेसम्म उनीबाट अपेक्षा गरेजस्तो खेल देख्न सकिएको छैन । बलिङमा कमल ऐरी, रिजन ढकाललगायतले पनि आज आफ्नो पूर्ण क्षमता देखाउनुपर्ने छ । नत्र गाह्रो छ, विराटनगरजस्तो सशक्त टिमलाई जित्न ।

अंक तालिकाको कुरा गर्ने हो भने, अहिले चितवन पाँचौँ स्थानमा छन् । र, ऊ सामना गरिरहेको छ, अंक तालिकाको दोस्रो शक्तिशाली टिमको । त्यसैले यो चितवनका लागि सानोतिनो चुनौती पक्कै होइन । आजको खेल पनि गुमाएमा चितवनको प्लेअफ यात्रा कठिन बन्ने छ ।

प्रकाशित मिति: २०८२ मंसिर १०, बुधबार १५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको