काठमाडौं,मंसिर १६। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०८२\८३ अन्तर्गत जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई अन्त्य गर्दै पहिलो जित हात पारेको छ।
चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानी युवा अलराउण्डर माज सदाकतले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरी ६३ रन बनाउँदै आफ्नो एनपीएलमा पहिलो अर्धशतक प्रहार गरे। अनिल शाहले ३६ बलमा ६१ रन बनाउँदै माजसँग ७९ रनको दोस्रो विकेट साझेदारी गरे, जसले जीतको आधार तयार पारेको थियो।
पहिलो विकेटका लागि माज र आसिफ शेखले ४५ रनको साझेदारी गरे। अन्तिम ओभरमा आदित्य महताले १८ अविजित रन थप्दै जनकपुरलाई जित दिलाए। बलिङतर्फ, रुपेश सिंह, माज सदाकत र लफ्टी इटनले समान १–१ विकेट लिए।
चितवनका लागि ओपनर डाविड मालानले ८० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे भने अर्जुन साउदले ५२ रन जोडे। मालान र अर्जुनले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गर्दै शानदार सुरुवात दिलाए। कप्तान कुशल मल्लले अन्तिम ओभरमा १८ रन जोड्दै ३० अविजित रन बनाएका थिए।
यस जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ र प्लेअफको सम्भावना कायम राखेको छ। चितवन भने ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ।






