काठमाडौं , मंसिर २६ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटको फाइनल खेल शनिबार दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुनेछ।
दुवै टोलीको फाइनल यात्रा विपरीत रह्यो। सुदूरपश्चिमले लिग चरणमा सधैं प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थानमा रह्यो भने लुम्बिनीले उतार-चढावको सामना गर्दै प्लेअफमा प्रवेश गर्यो र अन्ततः फाइनलमा स्थान बनायो।
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिमले लिग चरणमा लगातार पाँच खेल जितेर प्लेअफ सुनिश्चित गर्यो। लिगको पहिलो खेलमा काठमान्डुविरुद्ध १४७ रन डिफेन्ड गर्दै २९ रनले जित हासिल गरेको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १८ रनले, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ९४ रनमा अलआउट गराउँदै जित, चौथो खेलमा लुम्बिनी लायन्ससँग र पाँचौं खेलमा जनकपुर बोल्ट्सलाई हराएर अंकतालिकामा शीर्ष स्थानमा रह्यो। छैटौं खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान बनायो।
पहिलो क्वालिफायरमा सुदूरले विराटनगर किङ्सलाई ७८ रनमै अलआउट गर्दै सिधै फाइनलमा प्रवेश गर्यो। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोली ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ।
लुम्बिनी लायन्स
लुम्बिनीले लिग चरणमा उतार(चढावको सामना गरे पनि इलिमिनेटर र दोस्रो क्वालिफायरमा लगातार जित हासिल गर्दै फाइनलमा प्रवेश गर्यो। कप्तान रोहित पौडेलले ९ खेलमा २६० रन बनाउँदै टोलीलाई नेतृत्व प्रदान गरेका छन्।
फाइनलमा सुदूरपश्चिमको लगातार राम्रो लय र लुम्बिनीको पुनरागमन क्षमता भिड्ने छ। दर्शकहरूलाई यो भिडन्त उत्साहपूर्ण र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।






