एमालेको नेतृत्व छनोटको मतदान आज ४ बजेदेखि, भोलि दिउँसो नतिजा सार्वजनिक हुने



काठमाडौं, पुस १ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ। बन्दसत्र हल, भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान सञ्चालन हुने तयारी पूर्ण भइसकेको छ।

महाधिवेशनमा देशभरबाट २,२६३ प्रतिनिधि सहभागी छन्। यसमा १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी गरी जम्मा ३५१ जना नयाँ नेतृत्व चयन हुने छ। अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेलले आफ्नो–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्। दुवै पक्षका गरी करिब ७०० उम्मेदवार मैदानमा छन्।



भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेका अनुसार, मतदानस्थलमा ८० वटा मेशिन राखिएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब ३५–४० मिनेट समय लाग्ने अनुमान छ। साक्षर प्रतिनिधिले छोटो समयमा मतदान सक्ने भए पनि साक्षर नभएका प्रतिनिधिलाई बढी समय लाग्ने बताइएको छ।

मतदान प्रक्रिया लम्बिनुको मुख्य कारण उम्मेदवार संख्या धेरै हुनु र प्रतिनिधिको साक्षरता स्तर रहेको प्राविधिक पाण्डेले बताएका छन्। प्रत्येक मेशिनको मत अलग–अलग संकलन गर्नुपर्ने भएकाले मतगणनामा डेढदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ।

यदि नेतृत्वबाट कुनै रोक्का आदेश नआएमा आज रातभरी मतदान सकिने र भोलि दिउँसोसम्म अन्तिम नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसैसँगै एमालेको नयाँ नेतृत्वको रूपरेखा सार्वजनिक हुँदै महाधिवेशन पूर्ण हुने छ।

प्रकाशित मिति: २०८२ पुष १, मंगलवार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको