काठमाडौँ , पुस १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पार्टी सञ्चालन र आगामी निर्वाचन तयारीका लागि ललितपुर–१०, ज्वागलस्थित दुई तले घर भाडामा लिएर कार्यालय स्थापना गर्ने काम तीव्र गतिमा अघि बढाइरहेका छन्। अहिले भित्री डेकोरेसन, अफिस सेटअप र बाहिरी मर्मतका कामहरू भइरहेको स्रोतले पुष्टि गरेको छ।
पार्टी निर्माण र निर्वाचन तयारीका लागि बालेन मंगलबारदेखि सक्रिय छलफलमा छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), ऊर्जामन्त्री कुलमान घिसिङ, विभिन्न राजनीतिक दलका नेताहरू, स्वतन्त्र व्यक्तिहरू र जेनजी युवाहरूसँग लगातार भेटवार्ता गर्दै आएका छन्। ती सबै छलफलको ठोस नतिजा शनिबार साँझसम्म आउने अनुमान गरिएको छ।
आगामी प्रतिनिधि सभा समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पुस १३–१४ गते निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले, बालेनले आफू सहभागी हुने दलको टुंगो अघि नै लगाउने तयारीमा छन्। रास्वपासँग अझै सहमति नजुटेको अवस्थामा तत्कालका लागि बालेन र कुलमान मिलेर अघि बढ्ने निश्चित देखिन्छ। उनीहरूले देश विकास पार्टीबाटै समानुपातिक उम्मेदवार उठाउने सहमति पनि भइसकेको स्रोतले जनाएको छ।
देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीकी अध्यक्ष सन्ध्या खनाल हुन् भने चुनाव चिह्न “लौरो” रहेको छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए।
हालसम्म पार्टी कार्यालय नहुँदा बालेनले राजनीतिक छलफलहरू ज्वागलस्थित कुमार बेनको घरमा सञ्चालन गर्दै आएका थिए। तर नयाँ कार्यालय तयार भएपछि पार्टी सञ्चालन र चुनावी तयारीलाई व्यवस्थित गर्न सहज हुनेछ।
पार्टी कार्यालयको मर्मत र अफिस सेटअप पूरा भएपछि पार्टीका नेताहरू, कार्यकर्ता र आम नागरिकसँगको संवादलाई व्यवस्थित ढंगले अगाडि बढाउने योजना बालेनको छ। यसले आगामी निर्वाचन र देशको राजनीतिक तयारीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






