काठमाडौँ, पुस २२ । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश प्रसाद यादव आज जनता समाजवादी पार्टी (जसपा )नेपालमा प्रवेश गरेका छन्। जसपा नेपालको केन्द्रिय कार्यालयमा आज विहान अध्यक्ष उपेन्द्र यादवले सप्तरी निवासी यादवलाई पार्टी प्रवेश गराएका हुन ।
यादवको जसपा नेपाल प्रवेशले मधेशको क्षेत्रीय राजनीतिक परिदृश्यका साथै सप्तरी क्षेत्र नं.२को राजनीतिमा महत्वपूर्ण असर पार्ने अनुमान गरिएको छ। जसपा नेपालका अध्यक्ष यादव सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट अगामी प्रतिनिधिसभाको निर्वाचन लडने तयारी गरिरहेका बेला उमेश यादवको प्रवेशलाई महत्वका साथ हेरिएको छ।
पार्टी प्रवेश गर्दै यादवले आफ्नो पार्टी प्रवेशसँगै जनता समाजवादी पार्टीको संगठन मजबुत बनाउन र आगामी निर्वाचनमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। पार्टी स्रोतका अनुसार, यादवको प्रवेशले जनता समाजवादी पार्टीमा खास गरि सप्तरीमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
पूर्व मन्त्री यादवले यस अवसरमा भने, “मधेशको सुदृढ राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न र जनताको आवाजलाई संसदसम्म पुर्याउन अब म जनता समाजवादी पार्टीसँग मिलेर काम गर्नेछु। पार्टीको मूल्य र लक्ष्यसँग मेल खानेगरी आफ्नो अनुभव र नेतृत्व क्षमता योगदान गर्नेछु।”
जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले पनि यादवको प्रवेश स्वागत गर्दै भने कि उनका अनुभव र राजनीतिक क्षमताले पार्टीको नीति, रणनीति र आगामी निर्वाचन तयारीमा महत्वपूर्ण भूमिका खेल्नेछ।
पूर्व मन्त्री यादव जस्ता अनुभवी नेताको पार्टी प्रवेशले आगामी प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टीलाई प्रतिस्पर्धात्मक लाभ अपेक्षा गरिएको छ।
उमेश प्रसाद यादवको प्रवेशसँगै जनता समाजवादी पार्टी मधेश क्षेत्रीय राजनीति र राष्ट्रिय तहमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउन तयार देखिएको छ।






