जनकपुरधाम, असोज ९। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ ।
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा रोहित पौडेलले अविजित ३३ रन बनाएका छन। उनले ३२ बलमा ४ चौका प्रहार गरेका छन।
सुन्दीप जोराले ३५ बलमा ३४ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १८ बलमा १५ रनको योगदान दिए। कुशल मल्लले ९ तथा आसिफ शेखले २ रन बनाएका थिए। नेपालका ओपनर कुशल भुर्तेल भने २ बलमै बिना रन आउट भए।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। उसका लागि फैसल खान अहमदजाई र नजिबुल्लाह जद्रानले समान ३० रन बनाए। नाङ्गेयालिया खान १७ रनमा अविजित रहे।
नेपालका बलरमध्ये कुशल भुर्तेलले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए भने ललित राजवंशीले ४ ओभरमा १३ रन दिँदै ३ विकेट लिएका थिए।
अफगानिस्तानको सुरुवात नै कमजोर ररेको थियो । ललित राजवंशीको बलिङमा हसन इसाखिल र मोहम्मद अक्रम आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो। त्यसपछि नेपालले नियमित अन्तरालमा विकेट लिँदै अफगानिस्तानलाई १०२ रनमा सीमित गरेको थियो।
१०३ रनको लक्ष्य पछ्याएको नेपालले पनि सुरुवातमा दुई विकेट गुमाएको थियो। तर सन्दीप जोरा र रोहित पौडेलले इनिङ सम्हाल्दै नेपालको जितको आधार तयार गरे।
यस जितसँगै नेपालले एसियन गेम्सको पुरुष क्रिकेटमा महत्वपूर्ण सुरुवात गरेको छ। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।






