सप्तरी, माघ ४ । आसन्न प्रतिनिधीसभाको निर्वाचनका सवै प्रक्रियालाई व्यवस्थित बनाउने उदेश्यका साथ मुख्य निर्वाचन अधिकृत कार्यालयले छलफल चलाएको छ ।
राजविराज स्थित मुख्य निर्वाचन अधिकृत कार्यालयले आईतवार राजनितिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा सर्वपक्षिय र सर्वदलिय बैठक मार्फत छलफल गरेको हो ।
मुख्य निर्वाचन अधिकृत एवं न्यायधिश किशोर घिमिरेको अध्यक्षता तथा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रमका सहभागिहरुले प्रतिनिधीसभा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा मनोनयन प्रक्रिया देखी मतगणना प्रक्रिया सम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
मुख्य निर्वाचन अधिकृत घिमिरेले अत्यन्त सिमित श्रोत साधनका वावजुद आफुहरुले काम गरिरहेको भन्दै सबैको सहयोगले प्रतिनिधी सभाको निर्वाचन मर्यादित ढंगले सम्पन्न गर्न सफल हुने विश्वास ब्यक्त गरे ।

आयोगले जारी गरेको आचार संहिता पालनालाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरुले मनोनयन प्रक्रिया देखी मतगणना प्रक्रिया सम्म आवश्यक पर्ने सबै सुरक्षा व्यवस्थापनको तयारी गरिएको जनाएका थिए ।







