काठमाडौं ,माघ ४ । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट को उद्घाटन खेलमै नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भयो।
नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६।५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो। जितका लागि २ रन आवश्यक हुँदा थाइल्यान्डले विजयी चौका प्रहार गर्दै सहज जित हात पार्यो।
थाइल्यान्डका लागि नथाकन चन्थमले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५७ रन बनाइन्। त्यस्तै नानपत कोन्चारोन्काईले ३२ रन र अफिसरा सुवानचोनराथीले २८ रनको योगदान दिइन्। नेपालका लागि सीता रानामगरले दुवै विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा अलआउट हुँदै १२२ रनमा सीमित भएको थियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २६ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्।

थाइल्यान्डका बलरहरूले सशक्त प्रदर्शन गरेका थिए। थिपात्चा पुथावङवले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ विकेट लिँदा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट हात पारे।
पहिलो खेलमा हार बेहोरेको नेपालले अब प्रतियोगिताको दोस्रो खेलमा आगामी बिहीबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप यात्रालाई जीवित राख्न नेपालका लागि आगामी खेल निकै महत्त्वपूर्ण हुने देखिन्छ।







