काठमाडौँ, माघ ५ । नेकपा एमाले र नेपाल परिवार दलबीच आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी तालमेल हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र परिवार दलका संस्थापक एकनाथ ढकालबीच हिजो चार बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा दुवै दलले राष्ट्रियता, विकास, लोकतन्त्र, शान्ति र संविधानको रक्षा गर्ने उद्देश्यसहित सहकार्य गर्ने उल्लेख गरिएको छ। साथै, विगतदेखि रहेको सहकार्यलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।
सम्झौतापत्रअनुसार नेपाल परिवार दलले एमालेले उठाएका उम्मेदवारहरूलाई समर्थन गर्नेछ। अर्कोतर्फ, एमालेले ‘उपयुक्त समयमा’ परिवार दलका प्रतिनिधित्व संघीय संसद तथा प्रदेशसभामा गराउन सहयोग गर्ने सहमति गरेको छ।
दोस्रो बुँदामा संसदबाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने तर संसदभित्र उनीहरू एमालेको संसदीय दलमा आबद्ध हुने व्यवस्था उल्लेख गरिएको छ। यसबाहेक सहमतिपत्रमा उल्लिखित नभएका अन्य विषयहरू आपसी छलफल र सहमतिमै टुंगो लगाउने उल्लेख छ।
याद गर्नुपर्ने कुरा, परिवार दलका एकनाथ ढकाललाई यसअघि एमालेले समानुपातिक सांसद बनाएको थियो। ढकाल नेपालमा युनिफिकेसन चर्च सञ्चालन गर्ने व्यक्तिका रूपमा परिचित छन्।
यस चुनावी तालमेलसँगै एमाले र परिवार दलबीचको सहकार्य मध्यम र लामो समयसम्म निरन्तर रहने अपेक्षा गरिएको छ।



