विकास का काम नरोक्न मुख्यमन्त्री कँडेलको निर्देशन



सुर्खेत ,माघ ८ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई बहाना बनाएर विकास निर्माण तथा सेवा प्रवाहका काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ। बुधबार सुरु भएको अर्धवार्षिक समीक्षा बैठकमा मुख्यमन्त्री कँडेलले मन्त्रालयका प्रमुख र कर्मचारीलाई कामको गुणस्तर, समयसीमा र पारदर्शितामा सम्झौता नगर्न आग्रह गर्नुभयो।

मुख्यमन्त्रीले भन्नुभयो, “निर्वाचन आचारसंहिताले नयाँ काम रोक्न सक्छ तर पहिले स्वीकृत र नीति कार्यक्रममा समावेश भएका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने सुनिश्चित गर्नुपर्छ।” उहाँले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता प्रदर्शन गर्ने गरी काम गर्न सुझाव दिनुभयो।



बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो। जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको भन्दै योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।

मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न नगर्नाले सरकारप्रति जनविश्वास कमजोर हुने उल्लेख गर्दै समन्वय र अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। बैठकमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, मन्त्रालयका सचिव, ऊर्जा सचिव र प्रदेशका १० जिल्लाका कार्यालय प्रमुखहरू उपस्थित थिए।

कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गरी आगामी कार्ययोजना र प्राथमिकताका विषयमा छलफल गरिएको थियो। मुख्यमन्त्रीको निर्देशनअनुसार मन्त्रालयहरूले विकासका कामलाई निरन्तरता दिन र निर्वाचनको बहाना बनाउने प्रचलन रोक्न आवश्यक छ।

प्रकाशित मिति: २०८२ माघ ८, बिहीबार १६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको