काठमाडौं ,माघ ८ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेल जित्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले नेदरल्यान्ड्सबाट १४१ रनको लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनायो। यससँगै नेपाललाई जितका लागि १४१ रनको चुनौतीपूर्ण लक्ष्य प्राप्त भएको हो।
नेदरल्यान्ड्सको इनिङ्समा कप्तान बाबेट डे लिडे सर्वाधिक प्रभावशाली देखिइन्। उनले ४९ रनको महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याइन्। उनलाई स्टेर कालिसले राम्रो साथ दिँदै ३० रनको योगदान दिइन्। त्यस्तै रोबिन रिकेले १९ रन बनाइन् भने आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।
नेदरल्यान्ड्सको सुरुआत भने राम्रो हुन सकेन। टोलीले मात्र १५ रन जोड्दा दुई महत्वपूर्ण विकेट गुमाएको थियो। त्यसपछि बाबेट र कालिसबीच तेस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी भयो, जसले नेदरल्यान्ड्सको इनिङ्सलाई सम्हाल्यो र प्रतिस्पर्धात्मक स्कोर तयार गर्न सहयोग गर्यो।

नेपालका तर्फबाट बलिङमा रुबिना क्षेत्री उत्कृष्ट देखिइन्। उनले २ विकेट लिँदै नेदरल्यान्ड्समाथि दबाब कायम राखिन्। साथै रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान १–१ विकेट लिँदै टोलीलाई सहयोग पुर्याए। नेपाली बलरहरूले अन्तिम ओभरहरूमा रन रोक्न सफल भए पनि ठूलो साझेदारी तोड्न केही ढिला भयो।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग पराजय भोगेको थियो। प्रतियोगितामा अगाडि बढ्नका लागि नेपालका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। अब नेपालले बलियो ब्याटिङ प्रदर्शन गर्दै लक्ष्य पछ्याउने अपेक्षा गरिएको छ।







