सप्तरी माघ १६ । सप्तरी प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने कार्यमा सक्रियता बढाएसंगै विभिन्न अपराधका अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ ।यसैक्रममा विगत १० दिनको अवधिमा प्रहरीले विभिन्न अपराधका पाँच महिला सहित २५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी जिल्ला अदालतबाट पाँच रुपैयाँ जरिवाना गरिएका देखि दुई बर्षसम्म कैद सजाय तोकिएका प्रतिवादी छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार २०८२ माघ ६ देखि १५ गते सम्म १० दिनको अवधिमा प्रहरीले गाउँघरमा लुकिछिपी बसेका २५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
यसरी पक्राउ पर्नेमा किर्तेजालसाजी मुद्दामा अदालतबाट पाँच रुपैयाँ जरिवाना गरिएका शम्भुनाथ नगरपालिका १ का जवाहर साह देखि लेनदेन विगो मुद्दामा दुई बर्ष कैद सजाय तोकिएकी राजविराज नगरपालिका ६ की रामकुमारी यादव सम्म छिन् ।

प्रहरीद्वारा सार्वजनिक तथ्यांक अनुसार किर्तेजालसाजी मुद्दामा १०÷१० रुपैयाँ जरिवाना गरिएका शम्भुनाथ नगरपालिका २ की सोमनी देवी यादव, प्रभाकुमारी साह, कुटपीट मुद्दामा जनही ४० रुपैयाँ जरिवाना गरिएका सोही नगरपालिका ३ का तसलिम मियाँ, साबिर मियाँ, मुस्तकिम मियाँ पनि पक्राउ परेका छन् ।
पक्राउपर्नेमा वन सम्बन्धि मुद्दामा नौ हजार तीन सय ७२ रुपैयाँ जरिवाना गरिएका सुरुङ्गा नगरपालिका २ का रामपति चौधरी, बहुविवाह कसुर मुद्दामा एक बर्ष ६ महिना कैद सजाय तथा १५ हजार जरिवाना तोकिएका रुपनी गाउँपालिका ३ का जयप्रकाश ठाकुर, सवारी ज्यान मुद्दामा एक बर्ष कैद र दुई हजार जरिवाना तोकिएका खडक नगरपालिका ७ का सत्यनारायण चौधरी तथा काठचोरी मुद्दामा दुई महिना कैद सजाय तोकिएका कञ्चनरुप नगरपालिका ७ का भागे सरदार छन् ।
यस्तै घरेलु हिंसा मुद्दामा जनही तीनहजारका दरले जरिवाना तोकिएका छिन्नमस्ता गाउँपालिका ५ का लक्ष्मण मुखिया, विजय मुखिया, चन्द्रकला मुखिया, रञ्जित मुखिया पनि पक्राउ परेका छन् ।
यस्तै कुटपीट मुद्दाका डाक्नेश्वरी नगरपालिका २ का अकलेश यादव, रुपनी गाउँपालिका २ का धनेश्वर प्रसाद साह, रामा खंग, असिया देवी खंग, शम्भुनाथ नगरपालिका २ का जागेश्वर खंग, सम्बन्धविच्छेद मुद्दाका शम्भुनाथ नगरपालिका ५ का रविलाल यादव, चोरी मुद्दाका विष्णुपुर गाउँपालिका १ का ओम प्रकाश यादव तथा लुटपीट मुद्दाका रुपनी गाउँपालिका २ का उचित खंग र विहारी खंग पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुबाट कूल पाँच बर्ष १९ दिन कैद सजाय तथा ७५ हजार चार सय ७७ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको प्रहरीको भनाई छ ।
फरार अभियुक्त पक्राउ गरी फैसला कार्यान्वयन गर्दा प्रहरीले राजस्व रकम समेत बढाएको तथ्यांकले देखाएको छ ।







