बर्दिबास, माघ १६ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको क्रममा निर्वाचन आयोगले लागु गरेको आचारसंहिता २०८२को प्रभावकारी कार्यान्वयनमा सक्रिय पहल सुरु गरेको छ । यसअन्तर्गत महोत्तरीका चारै निर्वाचन क्षेत्रमा समन्वयात्मक अन्तर्क्रिया गोष्ठी आयोजना गरी राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिता सम्बन्धी जानकारी प्रदान गरिएको छ ।
गोष्ठीमा सहभागी उम्मेदवार र दलका प्रतिनिधिहरूले राष्ट्रिय झण्डा, व्यानर, सामाजिक सञ्जालको प्रयोग, चुनावी सभा, सवारी साधनको प्रयोग लगायतका विभिन्न विषयमा प्रश्न उठाएका थिए । विशेषगरी निर्वाचन अवधिभर पर्ने होली पर्वका सन्दर्भमा धर्म–संस्कृति मनाउने र आचारसंहिता पालना गर्ने बीच सन्तुलन कसरी राख्ने भन्नेमा साझा जिज्ञासा व्यक्त भएको थियो ।
उम्मेदवारहरूले मतदानको ७२ घण्टा अगाडिदेखि सीमा सिल हुने अवस्थामा आफन्तसँग सीमा पारि आवतजावत गर्ने र मधेशमा समूह बनाएर घर–घर होली खेल्ने परम्परा आचारसंहिताभित्र कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठाएका थिए ।
गोष्ठीमा बोल्दै मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले निर्वाचन लोकतन्त्रको महान पर्व भएको भन्दै निर्वाचन अवधिभर आचारसंहितालाई प्राथमिकतामा राख्न आवश्यक रहेको औंल्याउनुभयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सामाजिक सञ्जाल दुरुपयोग, भोजभात, भडकिलो प्रचार, प्रतिस्पर्धीविरुद्ध दुष्प्रचार, पर्चा–पम्पलेट, तोरण–लोगो प्रयोग तथा मौन अवधिको उल्लङ्घनमा निगरानी राखिएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले चेतावनी दिएको छ कि आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार वा दल एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाहीमा पर्न सक्छन् ।
निर्वाचन क्षेत्र नं.१–४ का विभिन्न स्थानमा आयोजित समन्वयात्मक गोष्ठीमा कुल १३९ उम्मेदवारलाई सहभागी गराइएको थियो । क्षेत्र नं. ३ मा सबैभन्दा बढी ४१ उम्मेदवार, क्षेत्र नं. २ मा ३७, क्षेत्र नं. ४ मा ३६ र क्षेत्र नं. १ मा सबैभन्दा कम २५ उम्मेदवार रहेका छन् ।
यो पहलले निष्पक्ष, पारदर्शी र भयमुक्त निर्वाचन सम्पन्न गर्ने उद्देश्यमा आयोगको सक्रियतासँगै उम्मेदवार र राजनीतिक दललाई जिम्मेवारीबोध गराउने विश्वास गरिएको छ ।






