बंगलादेशमा बिएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्ने बाटो खुल्यो



ढाका, फागुन १ । बंगलादेशमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। सार्वजनिक प्रारम्भिक नतिजाअनुसार २९९ सिटमध्ये १८० सिट जित्दै बीएनपी बहुमतको रेखाभन्दा माथि पुगेको हो।

बीएनपी अध्यक्ष तारिक रहमान अब प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ। उनले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवै स्थानबाट विजयी भएका छन्। लामो समय विदेश बसाइपछि उनी गत वर्ष डिसेम्बरमा स्वदेश फर्किएका थिए।



यस परिणामसँगै बंगलादेशले करिब ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउने अवस्था बनेको छ। सन् १९९० को दशकयता शेख हसिना र खालिद जियाबीच सत्ता पालैपालो हुँदै आएको थियो।

यस पटक भने अवामी लिगलाई निर्वाचनमा सहभागी हुन अनुमति दिइएको थिएन। भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसीनाले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै यसलाई असंवैधानिक र एकपक्षीय बताएकी छन्।

निर्वाचनका क्रममा केही स्थानमा झडपका खबर आएका छन्। जमात ए इश्लामका कार्यकर्तासँग भएको विवादमा बीएनपीका एक नेताको मृत्यु भएको जनाइएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्।

छिमेकी भारतले भने अन्तिम नतिजा सार्वजनिक भएपछि मात्रै औपचारिक प्रतिक्रिया दिने जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १, शुक्रबार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको