काठमाडौँ, चैत २२ । सामुदायिक विद्यालयका विद्यार्थीले कक्षामा भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन्। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी मुद्रण संस्थाले आवश्यक पाठ्यपुस्तक छापेर सम्बन्धित जिल्लामा पठाउन सुरु गरेका छन्। अधिकांश जिल्लामा पुस्तकहरू पुगिसकेका छन् भने केही जिल्लामा ढुवानीको अन्तिम चरणमा रहेको जनाइएको छ।
यस वर्ष कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिइएको छ भने कक्षा १, २ का पुस्तक निजी मुद्रण संस्थाले छापेका छन। सरकारी तथ्याङ्क अनुसार जनक शिक्षाले १ करोड ७० लाख थान, निजी मुद्रण संस्थाले ६० लाख थान पुस्तक छाप्नेछ। दुवै निकायले पुस्तक छापेर ढुवानीसमेत सुरु गरिसकेका छन्।
केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार, सानोठिमीस्थित केन्द्रीय कार्यालयसहित नौ स्थानबाट पुस्तक बिक्री भइरहेको छ। मुलुकभरका १,२५८ वटा अधिकृत विक्रेताले आफूसँग नजिकको बिक्री केन्द्रबाट पुस्तक पाइसकेका छन्। विक्रेतालाई सहज होस् भनेर सानोठिमी कार्यालय शनिबार पनि खुला राखिएको थियो।
निजी मुद्रण संस्थासँगको समन्वयमा जनक शिक्षाले पुस्तक ढुवानी गर्दै आएको छ। पौडेलका अनुसार, “केही दिनअघि निजी मुद्रण संस्थाका सञ्चालकसँग बैठक गरेर पुस्तक ढुवानी सँगसँगै गरौँ भनेको थियौं। उनीहरुले पनि आफ्नै तरिकाबाट ढुवानी गरि रहेका छन । ”
जनक शिक्षाले विक्रेतालाई दुर्गम र सुगम जिल्लाको आधारमा न्यूनतम ९ प्रतिशतदेखि ४५ प्रतिशतसम्म कमिसन उपलब्ध गराउँछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शुक्रबार जनक शिक्षामा पुगेर विद्यार्थीले भर्ना भएको दिनै पुस्तक पाउन सक्ने गरी ढुवानी प्रक्रिया तीव्र बनाउन निर्देशन दिएका छन्। विगतमा टेन्डर, कागज खरिद, छापाखाना छनोट र वितरणमा समस्या देखिन्थ्यो, तर पछिल्ला वर्षहरूमा यी चुनौतीहरू न्यून भएका छन्।






