जितेश यादव
सर्लाही, चैत २३ । सर्लाहीको रामनगर गाउँपालिकामा डेंगु र जापानिज इन्सेफलाइटिस जस्ता किटजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रामनगर गाउँपालिकाको स्वस्थ्य शाखाको आयोजनामा वडा न।(१ स्थित श्री प्राथमिक बिधालयको सभाहलमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्वास्थ्य संयोजक संतोष कुमार यादवले डेंगु र जापानिज इन्सेफलाईटिसको न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना फैलाउनु नै प्राथमिक आवश्यकता रहेको बताए । उनले यी रोगहरूका कारण नागरिकको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरबारे समयमै सतर्क रहन सबैलाई आग्रह गरे ।
नेपालमा डेंगु प्रमाणित भएको २२ वर्ष पुगिसकेको र विश्वमा वार्षिक करिब ५ करोड मानिस यसबाट प्रभावित हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय भएको बताए ।
विशेषगरी उज्यालो समयमा टोक्ने यो लामखुट्टेको अण्डा महिनौंसम्म जीवित रहने र संक्रमित लामखुट्टेबाट जन्मने नयाँ पुस्ताका लामखुट्टे समेत संक्रमित नै हुने भएकाले जोखिम उच्च रहेको उनको भनाइ थियो। उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने र हाडजोर्नीमा पीडा हुने जस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्था जान सुझाव दिँदै उहाँले ‘खोज र नष्ट गर’ अभियानलाई समुदायको संस्कार बनाउनुपर्नेमा जोड दिए ।
रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै विज्ञहरूले पूरा शरीर ढाकिने लुगा लगाउन, दिउँसो पनि झुलको प्रयोग गर्न र घर वरपर पानी जम्न नदिई सरसफाइमा विशेष ध्यान दिन समुदायलाई अपिल गरेका छन्। यो कार्यक्रमले किटजन्य रोग नियन्त्रणका लागि सरोकारवालाहरूबीच समन्वय र सहकार्यको नयाँ मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।






