सप्तरी, जेठ ९ । नेपाल भारोत्तोलन संघ सप्तरीको आयोजनामा जेठ ११ देखि ‘प्रथम राष्ट्रिय खुल्ला (महिला–पुरुष) भारोत्तोलन प्रतियोगिताको आयोजना हुने भएको छ ।’ प्रतियोगिता सप्तरी सदरमुकाम राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हाँलमा जेठ ११ सोमवारदेखि जेठ २६ गते बुधवारसम्म चल्ने आयोजक समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।
संघका उपाध्यक्ष गोपाल प्रसाद गुप्ताका अनुसार प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ)का गरी १ सय ५० जना महिला र पुरुष खेलाडीको सहभागिता रहनेछ । विजयी खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र काश्य पदका साथै उत्कृष्ट पुरुष–महिला खेलाडीलाई पनि पुरस्कृत गरिने उनको भनाई छ ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष एवम् भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी पुन्तिलाल यादवले प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिएको जानकारी दिए । करीब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि जिल्लाका विभिन्न पालिका, संघ संस्था र खेलप्रेमीले आर्थिक सहयोग गरिरहेको उनको भनाई छ ।
उनले केही समयपछि जापानमा हुन लागेको एशियाली खेलकुदमा भारोत्तोलन तर्फ सहभागि हुने टिममा छनौट भएका चार वटै खेलाडी सप्तरी कै उत्पादन भएको जानकारी दिदै नयाँ नयाँ प्रतिभा जन्माउने उद्देश्यले पनि यस्ता प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले विगतमा मुलुकको विभिन्न ठाउँमा भएको भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण, पदक ल्याउनेमा मधेश प्रदेशमै सप्तरी पहिला स्थानमा रहने गरेको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च सप्तरी अध्यक्ष मनोज कुमार माझीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संघका सचिव जितेन्द्र प्रसाद गुप्ता, सल्लाहकार प्रेम यादव, नविन गुप्ता लगायतले पनि प्रतियागिताबारे विभिन्न जानकारी गराएका थिए ।






