एजेन्सी, साउन २९ । भारतको झारखण्डस्थित कोडरमा जिल्लामा नेपाली श्रद्धालु बोकेको बस र ट्रक आपसमा ठोक्किँदा नेपालका १२ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा करिब ४० देखि ५० जना यात्रु घाइते भएका छन्।
सतगावाँ थाना क्षेत्रअन्तर्गत पोखरडिहा मोडनजिक शुक्रबार बिहान करिब ४ बजे दुर्घटना भएको हो। बासुकीनाथ धामबाट दर्शन गरेर बिहारको राजगीरतर्फ जाँदै गरेको ‘सफारी ट्राभल्स’को बस अनियन्त्रित ट्रकसँग ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा नेपालको रौतहट जिल्लाका राजेश यादवका १२ वर्षीय छोरा शिवम कुमार रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
बसमा सवार सबै श्रद्धालु रौतहटबाट ‘बोलबम’ यात्रामा निस्किएका थिए। उनीहरूले देवघर र बासुकीनाथमा जलाभिषेक गरी राजगीर दर्शनका लागि जाने क्रममा दुर्घटना भएको जनाइएको छ।
दुर्घटनापछि यात्रुहरूको उद्धारका लागि सतगावाँ प्रहरी र स्थानीय बासिन्दा परिचालन भएका थिए। घाइते सबैलाई तत्काल सतगावाँ सामुदायिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो।
त्यहाँ प्राथमिक उपचारपछि १० जना गम्भीर घाइतेलाई थप उपचारका लागि कोडरमा रेफर गरिएको छ। अन्य घाइतेको पनि स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।
प्रहरीले मृतक बालकको शव पोस्टमार्टमका लागि पठाएर दुर्घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।






