धनगढी, भदौ ३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन्।
प्रदेशसभा बैठकमा सहभागी ४६ जना सदस्यमध्ये ४१ जनाले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका थिए भने १५ जनाले विपक्षमा मतदान गरेको जनाइएको छ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री भट्टले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको घोषणा गर्दै उनले विश्वासको मत प्राप्त गरेको जानकारी गराए।
भट्टलाई नेकपाका २० जना र उपसभामुखसहित एमालेका ११ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।
एमालेको समर्थनमा भट्ट गत शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
विश्वासको मत प्राप्त गरेसँगै भट्ट नेतृत्वको प्रदेश सरकारलाई तत्कालका लागि राजनीतिक स्थायित्व मिलेको छ। प्रदेश सरकार सञ्चालनका लागि अब मुख्यमन्त्री भट्टले सत्ता साझेदार दलसँगको समन्वयमा आगामी कार्यदिशा अघि बढाउने तयारी गरेका छन्।






