नेपालगञ्ज-पोखरा उडान भदौ अन्तिम सातादेखि पुनः सुरु हुँदै



नेपालगञ्ज, भदौ ४ । लामो समयदेखि स्थगित नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि यो रुटमा नियमित उडान सुरु गर्न लागेको जनाएको छ।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढेपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। नेपालगञ्ज–पोखरा उडानले भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने भएकाले धार्मिक पर्यटकका लागि समेत यो सेवा महत्वपूर्ण मानिन्छ।

गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र सञ्चालन लागत बढ्नुका कारण सेवा रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको आगमन बढ्नुका साथै यात्रुको मागसमेत बढेपछि उडान पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

बुद्ध एयरका अनुसार अब आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान हुनेछ। कम्पनीले उडानका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।

उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपाल तथा भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो सेवा पर्यटनका लागि महत्वपूर्ण रहेको बताए।

हवाई सेवा सञ्चालनपछि पोखरालगायत क्षेत्रबाट नेपालगञ्जको बागेश्वरी मन्दिर तथा भारतको अयोध्याजस्ता धार्मिक गन्तव्यमा पुग्न सहज हुने व्यवसायीको भनाइ छ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतका नागरिकलाई पोखरा तथा मुस्ताङ जानसमेत सहज हुनेछ।

स्थानीय पर्यटन व्यवसायीको पहलपछि २०७८ साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालनमा आएको थियो।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार ०७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको