उद्धव थापालाई राप्रपाले गर्‍यो कारबाही, कमल थापाले राखे नोट अफ डिसेन्ट



काठमाडौं, भदौ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै कारबाही गरेको छ । उनलाई पार्टीको साधारण सदस्य र प्रदेशसभा सदस्यबाट समेत निष्कासन गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् ।

एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० नेतृत्वमा बागमतीमा सरकार गठनका लागि उद्धव थापाले समर्थन गरेपछि राप्रपाले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले पार्टीको निर्देशन नमानेको भन्दै कारबाही गरिएको लिङदेनले बताए ।

‘उद्धव थापालाई साधारण सदस्य र प्रदेशसभाको सदस्यबाट कारबाही गरिएको छ,’ लिङदेनले भने । उनले सरकारमा सहभागी हुने वा पार्टीको निर्णयविपरीत काम गर्ने अन्य नेतामाथि पनि कारबाही गरिने चेतावनी दिए ।

यसैबीच, उद्धव थापामाथिको कारबाहीप्रति राप्रपाका नेता कमल थापाले असहमति जनाएका छन् । बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कारबाहीको निर्णय पार्टीको विधि, विधान र पद्धतिविपरीत हतारमा गरिएको बताए ।

कमल थापाका अनुसार उद्धव थापामाथि कारबाही गर्नुअघि घटनाबारे निष्पक्ष छानबिन समिति गठन गरी त्यसको प्रतिवेदनका आधारमा निर्णय गर्नुपर्ने प्रस्ताव गरिएको थियो । तर, उक्त प्रस्ताव अस्वीकार गर्दै तत्काल कारबाही गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

उनले आफू लगायत केही नेताले निर्णयको विपक्षमा लिखित ‘नोट अफ डिसेन्ट’ दर्ता गरेको जानकारी दिए ।

कमल थापाले बागमती प्रदेश संसदीय दलले केन्द्रको निर्देशनका लागि अन्तिम समयसम्म प्रतीक्षा गरेको दाबीसमेत गरे । सरकार गठनका विषयमा केन्द्रबाट स्पष्ट निर्देशन नआएपछि प्रदेश संसदीय दलका बहुमत सदस्यले निर्णय गरेको उनको भनाइ थियो ।

पार्टी संकटमा रहेका बेला नेतृत्वले हैकमवादी शैलीमा नेता–कार्यकर्तामाथि कारबाही गर्दै गए संगठन थप कमजोर र ध्वस्त हुने चेतावनीसमेत कमल थापाले दिएका छन् ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको