हेटौँडा , भदौ ६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएकी छन् ।
शनिबार बिहान मन्त्री यादव नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका–८ स्थित हेटौँडा कपडा उद्योगको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा उनले उद्योगको पूर्वाधार, मेसिनको अवस्था तथा पुनः सञ्चालनका लागि आवश्यक तयारीबारे जानकारी लिइन् ।
मन्त्री यादवले कपडा उद्योगलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइन् । उनले कपडा उद्योगसँगै लामो समयदेखि बन्द रहेका अन्य सरकारी उद्योगसमेत पुनः सञ्चालन गर्ने सरकारको तयारी रहेको जानकारी दिइन् ।
निरीक्षणका क्रममा मन्त्री यादवले नेपाली सेनाका अधिकारीसँग उद्योगको भौतिक पूर्वाधार, मेसिनको अवस्था र उत्पादन पुनः सञ्चालनका विषयमा जानकारी लिएकी थिइन् । उनले उद्योग सञ्चालनका चुनौती, उत्पादन विस्तार र रोजगारी सिर्जनाको सम्भावनाबारे सरोकारवालासँग समेत छलफल गरिन् ।
उद्योगमा रहेका ४८८ वटा तानमध्ये हाल १२ वटा मात्र सञ्चालनमा रहेको जानकारी मन्त्री यादवलाई गराइएको थियो ।
साढे दुई दशकदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा कपडा उद्योगमा करिब तीन साताअघि परीक्षण उत्पादन सुरु गरिएको थियो । सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरी उत्पादन सञ्चालनको जिम्मेवारी दिएपछि साउन २३ गते दुईवटा लुम (तान) सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरिएको थियो ।
निरीक्षण टोलीमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगीता कुँवरलगायत सहभागी थिए ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको लगानीमा २०३२ सालमा हेटौँडा कपडा उद्योग स्थापना भएको थियो । उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।
राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, बढ्दो आर्थिक दायित्वलगायतका कारण उद्योगको उत्पादन २०५६ सालदेखि बन्द भएको थियो भने २०५७ सालदेखि उद्योग पूर्ण रूपमा बन्द रह्यो । तत्कालीन सरकारले २०५९ सालमा उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो ।
बजार व्यवस्थापनको कमजोरी, प्रविधिको समयानुकूल आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङ, आवश्यकताभन्दा बढी जनशक्ति र कमजोर व्यवस्थापकीय क्षमताका कारण उद्योग लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन ।






