काठमाडौँ , भदौ ६। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको वर्तमान संकट समाधानका लागि राजनीतिक दलहरूको नेतृत्वमा नयाँ पुस्तालाई अघि बढाउनुपर्ने बताएका छन् ।
नेकपाको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले पार्टीको पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताए । उनले अब नेतृत्वमा युवालाई अवसर दिनुपर्नेमा जोड दिए ।
देश गम्भीर संकटमा रहेको उल्लेख गर्दै खनालले त्यसबाट मुलुकलाई निकास दिन नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे ।
उनले देशका प्रमुख राजनीतिक दलहरूमा आन्तरिक संकट बढ्दै गएको टिप्पणी गरे । नेपाली कांग्रेस दुई धारमा विभाजित रहेको उल्लेख गर्दै उनले कांग्रेस अहिले एकताबद्ध र प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए ।
त्यस्तै, नेकपा एमालेभित्र पनि पार्टी पुनर्गठन र रूपान्तरणको माग बलियो बन्दै गएको खनालको दाबी छ । एमालेका अधिकांश नेता तथा कार्यकर्ता पार्टीलाई नयाँ ढङ्गबाट पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको उनले बताए ।
यस्तै आवश्यकता नेपाली कम्युनिस्ट पार्टीमा समेत रहेको उनको भनाइ थियो । पार्टीलाई पुनर्गठन र रूपान्तरण नगरी अघि बढ्न कठिन हुने खनालले बताए ।
पुराना नेताहरूले नयाँ पुस्तालाई निरन्तर अर्ती–उपदेश दिनेभन्दा नेतृत्वमा आउन अवसर दिनुपर्नेमा उनले जोड दिए । पुराना नेताहरूले सल्लाह, प्रशिक्षण र मार्गदर्शन गर्ने तथा नयाँ पुस्ताले नेतृत्व सम्हालेर अघि बढ्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
खनालले राजनीतिक दलहरूले पुस्तान्तरण र नेतृत्व रूपान्तरणलाई प्राथमिकतामा राख्दै नयाँ सोच, ऊर्जा र दृष्टिकोणसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।






