एजेन्सी, भदौ १७ । अमेरिका र इरानबीचको विवादले पश्चिम एसियामा सैन्य तनाव थप चर्किँदै जाँदा इरानको दक्षिणी प्रान्त होर्मोजगानमा भएको अमेरिकी मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको दाबी गरिएको छ। आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको इरानी रेड क्रिसेन्टले जनाएको छ।
रेड क्रिसेन्टका अनुसार सिरिक काउन्टीको कुहेस्तक सहरस्थित एक आवासीय घरमा मिसाइल आक्रमणपछि त्यसका टुक्रा नजिकै भइरहेको विवाह समारोहस्थलमा खसेका थिए। घटनामा एक बालकसहित चार जनाको मृत्यु भएको बताइएको छ।
यसअघि होर्मोजगानका उपगभर्नर अहमद नफिसीले दुई जनाको मृत्यु भएको र केही घाइते भएको जानकारी दिएका थिए।
अमेरिकी सेन्ट्रल कमान्ड ९सेन्टकम०ले भने सेप्टेम्बर १ मा इरानी सैन्य संरचनामाथि आक्रमण गरिएको पुष्टि गरेको छ। सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स ९आईआरजीसी०का हवाई प्रतिरक्षा प्रणाली, रडार, समुद्री सम्पत्ति, बारुदी सुरुङ बिछ्याउने क्षमता तथा सञ्चार केन्द्रलाई निशाना बनाइएको थियो।
यसैबीच, इरानले पनि अमेरिकाविरुद्ध जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ। आईआरजीसीले जोर्डनस्थित अमेरिकी प्रिन्स हसन एयर बेसमा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको जिम्मेवारी लिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा लामो दूरीका आरक्यू–४ र एमक्यू–९ ड्रोन राखिएका संरचनालाई निशाना बनाइएको थियो। आईआरजीसीले केही ड्रोन नष्ट भएको र अमेरिकी सैन्य तथा प्राविधिक कर्मचारीतर्फ क्षति पुगेको दाबी गरेको छ। यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
यसैबीच होर्मुज जलडमरूमध्य आसपासका केशम द्वीप, बन्दर अब्बास र चाबहार क्षेत्रमा समेत विस्फोटका घटना भएको बताइएको छ। पछिल्ला घटनाक्रमले अमेरिका–इरान तनाव थप बढ्दै गएर पश्चिम एशियामा व्यापक सैन्य द्वन्द्वको जोखिम बढाएको छ।






