काठमाडौं, भदौ २१ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको बाढीले चार घरसहित एउटा फलामे पुल बगाएको छ।
आइतबार बिहान करिब ३ः३० बजे अचानक खोलामा बाढी आएपछि स्थानीयका घर तथा नार्बु हुँदै ल्हो जाने फलामे पुलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार बाढीले नाम्रुङका नगु छिरिङ र वर्गीन लामाको कच्ची घर पूर्ण रूपमा बगाएको छ। त्यस्तै, लाक्पा भुटी लामा र दोर्जे घ्याल्जेनको कच्ची घरमा पनि पूर्ण क्षति पुगेको प्रारम्भिक विवरण छ।
बाढीले नार्बु हुँदै ल्हो जाने फलामे पुलसमेत बगाएपछि स्थानीयको आवतजावत प्रभावित भएको छ। पुलमा क्षति पुगेसँगै स्थानीयलाई दैनिक आवतजावतमा थप समस्या र जोखिम बढेको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन तथा अवस्थाबारे थप जानकारी लिने प्रहरीले जनाएको छ।
बाढीका कारण घर तथा भौतिक संरचनामा ठूलो क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बाढीबाट भएको कुल क्षतिको विवरण भने अझै संकलन भइरहेको छ।
लगातार वर्षाका कारण उत्तरी गोरखाका खोला तथा नदीमा पानीको बहाव बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले नदी तथा खोला आसपास बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र जोखिम मोलेर यात्रा नगर्न समेत स्थानीयवासीलाई अनुरोध गरेको छ।






