रौतहटको लालबकैया खोलामा पुलबाट हाम फालेर युवक बेपत्ता



ओम प्रकाश यादव
रौतहट, असोज ९। रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बाराको कचोर्वा घर भएका करिब २७ वर्षीय सचिन्द्र यादव रहेका छन्।

यादव उपचारका लागि मोटरसाइकलमा रौतहटको गरुडातर्फ जाँदै गर्दा लालबकैया नदीको पुलमा पुगेपछि मोटरसाइकल रोकेर अचानक खोलामा हाम फालेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवको मानसिक अवस्था ठीक नभएको बताइएको छ। पुलमा मोटरसाइकल रोकेर ओर्लिएपछि उनले एक्कासि लालबकैया खोलामा हाम फालेका थिए। त्यसपछि उनी खोलामा बेपत्ता भएका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। बेपत्ता यादवको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरी टोलीले लालबकैया खोलामा सम्भावित स्थानहरूमा खोजी कार्य जारी राखेको छ। पानीको बहाव तथा खोलाको अवस्थालाई ध्यानमा राख्दै गोताखोर परिचालन गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण तथा यादवको अवस्था खोजी कार्यपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको