काठमाडौं, असोज १० । नेपालमा वर्षा गराउने प्रणाली क्रमशः पश्चिमतर्फ सरेकाले काठमाडौं उपत्यकासहित पूर्वी भागमा आजदेखि वर्षाको मात्रा घट्ने भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिमी भूभागमा भने आज र भोलिसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट पश्चिमतर्फ सर्दै गएकाले पूर्वी क्षेत्रमा वर्षा कम हुँदै गएको हो । पूर्वी भूभागमा बदलीसँगै हल्कादेखि सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना कम रहेको उनले बताए ।
काठमाडौं उपत्यकामा पनि अघिल्ला दिनको तुलनामा वर्षा कम हुने विभागको अनुमान छ । केही समय आकाश खुल्ने र पुनः बदली हुने अवस्था रहे पनि लगातार वर्षाको सम्भावना नरहेको मौसमविद् लामिछानेले बताएका छन् । सोमबारदेखि काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा मौसममा उल्लेख्य सुधार आउने सम्भावना छ ।
पश्चिमतर्फ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ । पछिल्लो १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २४७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
भारी वर्षाका कारण पश्चिमी क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ । जोखिमलाई मध्यनजर गर्दै २५ जिल्लामा राति र दिउँसो दुवै समयमा सवारीसाधन सञ्चालन पूर्णरूपमा बन्द गर्न निर्देशन दिइएको छ ।
यस्तै, २९ जिल्लामा रातिको समयमा सवारीसाधन बन्द गर्ने तथा दिउँसोको अवस्था हेरेर मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय गर्ने व्यवस्था गरिएको छ । थप २३ जिल्लालाई पहेँलो संकेतमार्फत सतर्क रहन आग्रह गरिएको छ ।






