मलंगवा सबस्टेसन डुबानमा परेपछि सर्लाहीका १० पालिकामा विद्युत् अवरुद्ध



सर्लाही, असोज ११ । अविरल वर्षाका कारण सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि जिल्लाका १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण शाखाका अनुसार आइतबार बिहान करिब ४ बजेदेखि सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो ।

लगातारको वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि विद्युत् आपूर्ति बन्द गर्नुपरेको प्राविधिक इन्जिनियर सौरभ साहले जानकारी दिनुभयो । सबस्टेसन क्षेत्र अझै जलमग्न रहेकाले तत्काल विद्युत् सेवा सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।

प्राधिकरणले मोटर पम्प प्रयोग गरेर सबस्टेसनभित्र जमेको पानी निकालिरहेको छ । पानीको सतह घटेपछि उपकरणको प्राविधिक परीक्षण गरेर मात्रै विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने जनाइएको छ ।

मलंगवा वितरण शाखाका प्रमुख माधवेन्द्र यादवका अनुसार पानी निकासको काम तीव्र पारिएको छ । सबस्टेसन परिसरको पर्खालमा प्वाल पारेर पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ । बाहिरी नाला जाम हुँदा पानी निकासमा समस्या भएको उहाँले बताउनुभयो ।

कन्ट्रोल रुमबाट पानी हटाइसकिएको र उपकरण सुकाउने काम भइरहेको यादवले जानकारी दिनुभयो । प्राविधिक परीक्षणपछि अवस्था सामान्य रहेमा दुईदेखि तीन घण्टाभित्र विद्युत् सेवा पुनः सञ्चालन हुन सक्ने उहाँको भनाइ छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा मलंगवासहित सर्लाहीका १० स्थानीय तहका उपभोक्ता प्रभावित भएका छन् । प्राधिकरणले पानी निकास र प्राविधिक परीक्षणपछि विद्युत् सेवा पुनः सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ११, आईतवार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको