जनकपुरधाम, असोज ११ । धनुषाको मिथिला नगरपालिका–११ आँपगाछी टोलमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय राजन श्रेष्ठको एकतले घरमाथि आइतबार बिहान वर्षासँगै पहिरो खसेको थियो । पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो ।
पहिरो खसेपछि घरमा रहेका परिवारका अन्य चार जना सदस्य भने भागेर सुरक्षित हुन सफल भएका छन् । घटनास्थलमा पुगेको प्रहरीले उद्धार तथा आवश्यक व्यवस्थापनको काम गरेको जनाएको छ ।
लगातारको वर्षाका कारण धनुषाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।






