जनकपुरधाम, असोज ११। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा आज रातिदेखी मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । आज दिउँसो भने देशका विभिन्न भूभागमा वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी क्षेत्र नजिक रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी देखिएको हो ।
न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरेकाले मध्य तथा पूर्वी भूभागमा समेत बादल लागिरहेको छ । यसका कारण मधेश, बागमती तथा कोशी प्रदेशको पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना रहेको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कर्णालीदेखि मधेश प्रदेशसम्मका विभिन्न भूभागमा पनि वर्षा हुने भए पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना छैन ।
यद्यपि मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, लुम्बिनीको दक्षिणी क्षेत्र र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसमविद् अधिकारीका अनुसार न्यूनचापीय प्रणाली अहिले कमजोर हुँदै गएको छ । आज रातिसम्म यसको प्रभाव थप घट्ने भएकाले भारी वर्षाको सम्भावना नरहने र मौसममा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।






