नवलपुर, असोज ११ । नारायणी नदीमा पानीको सतह अत्यधिक बढेपछि चितवन र नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० जोड्ने नारायणी पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदी तटीय क्षेत्रमा समेत दर्जनौँ बस्ती डुबानमा परेका छन् ।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११।९१ मिटर पुगेको थियो । केन्द्रले ७।३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानेको छ । पानीको सतह अझै बढ्ने क्रममा रहेको जनाइएको छ ।
नदीमा पानीको बहाव बढेर पुरानो पुल अत्यधिक हल्लिन थालेपछि सुरक्षाका लागि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिनुभयो ।
हाल पुलबाट मोटरसाइकललाई मात्र आवतजावत गर्न दिइएको छ । नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीसाधनलाई गैँडाकोटमै रोकिएको छ भने चितवनको नारायणघाटबाट नवलपुरतर्फ आउने अन्य सवारीसाधनलाई समेत रोकिएको प्रहरीले जनाएको छ ।
सम्भावित दुर्घटना रोक्न पुलमाथि सवारीसाधन रोकेर पैदलयात्रीलाई फोटो तथा श्रव्यदृश्य सामग्री खिच्न समेत रोक लगाइएको छ । नदीको बहाव घटेपछि मात्रै सवारीसाधन सञ्चालन पूर्ण रूपमा खुलाइने प्रहरीले जनाएको छ ।
नारायणीको बहाव बढेसँगै नवलपुरका गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत नारायणी नदी तटीय क्षेत्रका दर्जनौँ बस्ती डुबानमा परेका छन् । नदी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिम बढे सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।






