सप्तरी, असोज ११ । सप्तकोशी नदीमा आएको बाढी सप्तरीका कोशी तटीय बस्तीमा पस्दा करिब पाँच सय घरपरिवार प्रभावित भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाका चारवटा वडाका बस्तीमा बाढी पसेको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिएका छन ।
नगरप्रमुख माझीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका–५, ७, १२ र १३ का बासिन्दा बाढीबाट प्रभावित भएका छन् । कोशी नदीको बीच भागमा रहेको वडा नं. १३ को गोबरगाढा बस्ती भने पूर्ण रूपमा डुबानमा परेको उनले बताए ।
घर, आँगन तथा बस्तीमा पानी पसेपछि प्रभावित परिवारलाई सुरक्षित र अग्लो स्थानमा सारेर पालको व्यवस्था गरिएको छ । बाढीका कारण घरमै खाना पकाउन समस्या भएपछि नगरपालिकाले शनिबारदेखि प्रभावित परिवारका लागि निःशुल्क भोजनको व्यवस्था गरेको छ ।
शनिबार मात्रै करिब एक हजार जनाले उक्त मेसबाट खाना खाएका थिए । आइतबार पनि प्रभावितका लागि मेस सञ्चालनमा रहेको नगरप्रमुख माझीले बताए ।
बाढीका कारण हनुमाननगर कंकालिनी नगरपालिका–७ मा दुई तथा वडा नं। १२ मा दुई गरी चार परिवारको घर भत्किएको नगरपालिकाले जनाएको छ । घर भत्किएपछि ती परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसैबीच सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका–५ मा पनि सप्तकोशीको बाढी पसेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार उक्त वडाका करिब १५ घरपरिवार प्रभावित भएका छन् । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार सप्तकोशी नदीको बहाव भने निरन्तर घटिरहेको छ । आइतबार बिहान नदीमा दुई लाख ३४ हजार क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजका २८ वटा ढोका खुला राखिएका छन् ।



