जनकपुरधाम, असोज १३ । लगातार वर्षाका कारण श्रीलंकासँगको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाली क्रिकेट टोली २०औँ एसियाली खेलकुदबाट बाहिरिएको छ।
जापानको नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा मंगलबार नेपाल र श्रीलंकाबीच क्वार्टरफाइनल खेल हुने तय थियो। तर वर्षा नरोकिएपछि टससमेत हुन सकेन र खेल रद्द गरिएको हो।
प्रतियोगिताको नियमअनुसार वर्षाका कारण क्वार्टरफाइनल खेल हुन नसकेको अवस्थामा ट्वान्टी–२० विश्व वरीयतामा उच्च स्थानमा रहेको टोलीलाई विजेता मान्दै सेमिफाइनलमा प्रवेश गराउने व्यवस्था छ। सोही नियमका आधारमा श्रीलंका अघिल्लो चरणमा पुगेको हो। हालको ट्वान्टी–२० विश्व वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा छ।
नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण नेपाल र जापानबीचको समूह चरणको खेल पनि प्रभावित भएको थियो। त्यस्तै सोमबार पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तानबीचका खेलसमेत एक बल नफाली रद्द भएका थिए।
नेपालले प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण प्रभावित भएको थियो। वर्षाका कारण १५ ओभरमा छोट्याइएको उक्त खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो।
नेपालले आफ्नो इनिङ पूरा गरेलगत्तै पुनः वर्षा भएपछि जापानले ब्याटिङ गर्न पाएन। त्यसपछि खेल अगाडि बढ्न नसक्दा नेपालले श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो। तर मंगलबार पनि वर्षा बाधक बनेपछि नेपाल प्रतियोगिताबाट बाहिरिन पुगेको हो।



