सुर्खेत, असोज १८ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने भन्दै प्रतियोगिता सर्ने विषयमा कुनै दुविधा नराख्न आग्रह गरेका छन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको उत्सव आजैदेखि सुरु भएको बताए।
उनले दशौंराष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने विषयमा कुनै अन्योल नरहेको स्पष्ट पारे। उनका अनुसार प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि सञ्चालन हुनेछ।
मन्त्री पोखरेलले यसपटकको राष्ट्रिय खेलकुद अघिल्ला संस्करणभन्दा प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे।
प्रतियोगिता सफल बनाउन संघ, प्रदेश र स्थानीय तहसहित सम्पूर्ण सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले बताए। तीनै तहका सरकार र खेलकुद क्षेत्रसँग सम्बन्धित सबै पक्ष मिलेर प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए।



