जनकपुरधाम, चैत २२ । मधेश प्रदेश सभाको गतिरोध हटाउन दलहरु सहमत भएका छन । मधेश प्रदेश सभा सचिवालयमा आज बिहान बसेको सर्वदलीय बैठकमा सत्तापक्षले सदनमा उठेको योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरुले जवाफ दिने, संसदीय छानबिन समिति गठन गर्ने जनाएपछि गतिरोध हटाउन प्रतिपक्षीदल सहमत भएका हुन ।
आजको सर्वदलिय बैठकले गतिरोध हटाउने सहमति गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । बैठकले अनाधिकृत तवरबाट योजनाको चिठी बिक्री वितरणबारे चैत २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै सदनको गतिरोध हटाउने सहमति भए संगै चैत २६ गते प्रधनामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएको छ ।
योजनाको चिठी अनधिकृत तरिकाबाट वितरण तथा कमिसनमा बेचिने गरेको भन्दै संसदीय छानबिन समिति गठनको अडान राख्दै प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र विपक्षी दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सभा बैठक चल्न दिएका थिएनन् । जसको कारण सदन अनिश्चित बनेको थियो ।
यसअघि दुईपटक सर्वदलीय बैठक भएपनि दुवै पक्ष आ(आफ्नो अडानमा हुँदा विनानिष्कर्ष सकिएको थियो ।



